उपसचिवको अभावमा रौतहटका अधिकांश पालिका निमित्त अधिकृतको भरमा सञ्चालन

30

सत्येन्द्र प्रताप सिंह
रौतहट, २४ मंसिर ।
रौतहटका अधिकांश पालिका निमित्त प्रमुख प्रशासकीयअधिकृतको भरमा सञ्चालनमा रहेको पाइएको छ । नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था गरिएपनि उपसचिवको अभावमा जिल्लाको अधिकांश पालिका निमित्तको भरमा सञ्चालनमा रहेको छ । जिल्लाका अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुन नसक्दा निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै कार्यालय सञ्चालन गरिरहेको देखिएको छ ।
जिल्लाको गरुडा, कटहरिया, गुजरा, मौलापुर, देवाही गोनाही, वृन्दावन, गढिमाई, परोहा, फतुवा विजयपुर लगाएतको नगरपालिका अझै प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ । सरकारले प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव नपठाएका कारणले निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट नै कार्यालय सञ्चालन गर्नुपरेको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल यादवले बताउनुभएको छ ।
सामान्य प्रशासन मन्त्रालयसँग नगरपालिकाका लागि पटक पटक सहसचिव माग गरे पनि पाउन नसकेको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेलले बताउनुभएको छ ।
उपसचिव अर्थात प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय नगरपालिकाले लेखापाल, खरिदार र नायव सुब्बा सरहका कर्मचारीलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको छ ।