नेपाल बाल संगठन पर्साद्वारा आर्थिक अभावमा छोरीको विवाहमा समस्या भएकाहरुलाई सहयोग

92

संतोष रन्जितकार
वीरगंज, २४ मंसिर ।
आर्थिक अभावमा छोरीको विवाह गराउन अप्ठ्यारोमा परेका विपन्न परिवारलाई नेपाल बाल संगठन पर्साले सहयोग गर्ने अभियान नै चलाएको छ । संगठनले आर्थिक अभाबमा विवाहको उमेर पुगेका युवतीको विवाह नरोकियोस भनेर सहयोग संकलन गरेरै विवाह गराइदिने अभियान चलाएको हो ।
विशेष गरेर विपन्न परिवारका पनि फरक सक्षम क्षमता भएका युवतीको विवाहका लागि आफूहरुले सहयोग गर्ने अभियान चलाएको संगठन पर्सा संयोजक राम किशोर सिंह परागले जानकारी दिए । संगठनले अभियान अन्तर्गत पहिलो पटक वीरगंज वडा नं २० अपौनी घर भएका दुई परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए । अपौनिकी फरक सक्षम क्षमताकी अजिजि सहिना खातुनको बुधबार हुन लागेको विवाहका लागि संगठनले १५ हजार रुपैयाँ उनको परिवारलाई उपलब्ध गराएको थियो । संगठनको पहलमा ग्लोबल आईएमई बैंक घडिअर्वा शाखाले सहिनाको विवाहका लागि १५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
बैंकका शाखा प्रमुख संतोष साहले सामाजिक कार्यका लागि ग्लोबल आईएमई बैंक परिवार तयार रहेको र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै आउँदो पौष ५ गते हुन लागेको चंदा खानको विवाहका लागि समेत संगठनले ७ हजार रुपैयाँ उनको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको संगठनका सदस्य हेमन्त तामाङले जानकारी दिए ।
आर्थिक रुपमा कमजोर तथा फरक क्षमता भएका युवतीको विवाह पैसाकै कारण नरोकियोस भनेर आफूहरुले सहयोगको अभियान चलाएको तामाङले बताए । विपन्न तथा फरक क्षमता भएकाहरुका लागि समाजका हेरक सक्षम व्यक्तिले सोच्न सके मात्र समाज रुपान्तरण हुने संयोजक सिंह बताउछन् ।
सहयोग प्रदान गर्न संगठनका संयोजक सिंहसहित सदस्यद्वय तामाङ, राजाबाबु रौनियार लगायतका व्यक्तिहरु युवतीको घरैमा पुगेका थिए ।