सानो पाइलाद्वारा आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान

35

संतोष रन्जितकार
वीरगंज, २४ मंसिर ।
सानो पाइलाले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज मुर्लीका ३० बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक संस्था सानो पाइलाको पन्ध्र वर्ष प्रवेशको अवसरमा आज वीरगञ्ज बिर्ता स्थित पारस्परिक पार्टी प्यालेसमा आयोजित समारोहमा सानो पाइलाले मुर्लीका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको हो ।


पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका अजय चौरसीयाले सो विपन्न परिवारका बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गर्नु भएको थियो । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि चौरसीयाले कोभिड १९ महामारीको समयमा तीनै तहका सरकार अलमलमा परिरहँदा सानो पाइलाले तदारूकताका साथ उदाहरणीय काम गरेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो । जनताप्रति दायित्व बोकेका सरकारका निकायहरू कोभिड १९ महामारीमा भ्रष्टाचारमा लिप्त भइरहँदा सानो पाइला जनताको सेवामा लागिपरेको नेता चौरसीयाले अवगत गराउनु भएको थियो । कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेको समयमा अप्ठेरोमा परेकाहरूलाई भोजन खुवाउने, सड्ढ्रमितहरूलाई राख्न आइसोलेसनको प्रवन्ध गर्ने, स्वास्थ्य संस्थालाई मेडिकल सामग्री उपलब्ध गराएको उदाहरणीय कामहरु सानो पाइलाले गरेको थियो ।
नेपाली कांग्रेस पर्साका सभापति एवम् पूर्वसभासद अजय द्विवेद्वीले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा सानो पाइलाले उल्लेखनीय योगदान रहेको बताउनु भएको थियो ।
त्यसैगरी संविधानसभा सदस्य एवम् उद्योगी अनिल रुङ्टाले आफ्नो १४ वर्षको यात्रामा सानो पाइलाले समाजमा अभूतपूर्व प्रभाव जमाउन सफल भएको बताउनुभयो । सानो पाइलाले सामाजिक, आर्थिक र राजनीतिक मुद्दामा समेत विचार र बहसका माध्यमबाट आफूलाई अब्बल साबित गरेको बताउँदै रुङ्टाले सानो पाइला थप उँचाइमा पुग्न सकोस् भन्ने कामना समेत गर्नुभएको थियो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले आफूले सानो पाइलासँग धेरै लामो समय सहकार्य गर्न नपाएको भए पनि कोभिड १९ को समयमा सानो पाइलाले गरेको कामबाट आफू प्रभावित भएको बताउनुभयो ।
सो समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि कोभिड–१९ महामारी र लागु औषधविरुद्ध सानो पाइलाले गरेको कामको स्मरण गर्नुभएको थियो ।


सो अवसरमा सानो पाइलाका संस्थापक एवम् सीईओ कञ्चन झाले १४ वर्षको अवधिमा गरेका कामहरू र त्यसले पारेको प्रभावबारे जानकारी गराउंदै उनले यो अवधिमा सानो पाइलाले सामाजिक काममा करिब २१ करोड रुपैयाँ खर्चिएको जानकारी दिएका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई एक सेट डेस्कटप कम्प्यूटर सहयोग उपलब्ध गराइएको थियो । वार्षीकोत्सव समारोह सानो पाइलाकी सचिव डा. शुष्मा तिवारी द्विवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।