सिमानाका खोल्न मांग गर्दै होटल तथा पर्यटन व्यवसायी संघद्वारा विज्ञप्ति जारी

49

संतोष रन्जितकार
वीरगंज, २५ मंसिर ।
कोरोना महामारीको संकटमा बन्द गरिएको सिमानाका खुला गर्न होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले माग गरेको छ । संघका अध्यक्ष हरि पन्तले बिहिबार एक विज्ञप्ति जारी गरेर विगत नौ महिना देखि नेपाल सरकारले सिमानाका बन्द गरेकोले होटल तथा पर्यटन क्षेत्र तहस नहस भएको भन्दै नाका खुला गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, विगत नौ महिनादेखि सीमानाका बन्द गर्न गरेको सरकारको अदूरदर्शी निर्णयले होटल व्यवसायीहरुलाई धेरै नै मर्का परेको छ ।
हाल आएर अन्य क्षेत्र खुलिसकेको र त्रिभुवन विमानस्थल समेत सुचारु भइसकेको अवस्थामा बोर्डर मात्र बन्द राखिराख्नुको कुनै औचित्य नभएकोले होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज नेपाल सरकारसंग आवश्यक स्वास्थ्य प्रोटोकल अपनाई यथाशीघ्र बोर्डर सुचारु गर्न जोडदार माग गर्दै ७ दिनभित्र बोर्डर खोल्न अपील गरेको छ ।
संघले गरेको आग्रहलाई सरकारले सम्बोधन नगरे आन्दोलनमा जाने समेत विज्ञप्तिमा जनाइएको छ । बारम्बार अनुरोध गर्दा पनि सरकारले कुनै सुनवाई नगरेकोले फेरी पनि पूर्ववत रवैया देखाएमा वीरगञ्जका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरु सिमामा अनसन बस्ने जानकारी यसै विज्ञप्ति मार्फत गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै यसको लागि सम्पूर्ण समुदाय तथा क्षेत्रको साथ र सहयोगको समेत अपेक्षा संघले गरेको छ ।