वीरगंज पब्लिक कलेजमा आयोजित व्यवसायिक विकास योजना फाइनल प्रतियोगिता सम्पन्न, तारो गर्लस् समूह प्रथम

601

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर ।
वीरगंज पब्लिक कलेज र हल्ट प्राईजको संयुक्त आयोजनामा बिजनेश डेभलपमेन्ट प्लान (व्यवसायिक विकास योजना) फाइनल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंजको होटेल भिस्वामा शनिबार आयोजित सो फाइनल प्रतियोगितामा भाग लिएका विद्यार्थी मध्ये पहिलो, दोस्रो र तेस्रो टिमलाई पुरस्कृत समेत गरिएको थियो ।
वीरगंज पब्लिक कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्य सो फाइनल प्रतियोगिता सम्पन्न भएको थियो ।
व्यवस्थापन विषय अध्ययन अध्यापन हुने उक्त कलेजका विद्यार्थीहरूले तयार पारेका योजनाबीच प्रतिस्पर्धा गराइएको कलेजका प्रबन्ध निर्देशक डा. दीपक शाक्यले जानकारी दिए । विद्यार्थीहरूले वीरगञ्जमा दबिएर रहेका व्यावसायिक सम्भावनालाई उजागर गरेको दाबी डा. शाक्यको छ । विद्यार्थीहरूको यो खोज नयाँ उद्यम गर्न चाहनेहरूका लागि पनि उपयोगी हुने उनले बताए ।
यस्तो खोज र अध्ययनले व्यवस्थापन विषयका विद्यार्थीलाई व्यावसायिक योजना बनाउन र त्यसको कार्यान्वयनमार्फत दक्ष उद्यमी बन्न प्रेरित गर्ने विश्वास आयोजकको छ ।
आजको प्रतियोगितामा कलेजमा पढ्ने विद्यार्थीहरुले आफुले सोचेको नया व्यापार–व्यवसाय सुरुआत कसरी गर्ने, व्यापार व्यवसायलाई कसरी अगाडि बढाउने, यस सम्बन्धि कस्तो योजना हुनु पर्दछ र यसले फाईदा कति दिन्छ भन्ने बारे ६ टिमले भाग लिएका थिए ।
भागलिने टिमहरुमा तारो गल्स, ढिडो हाउस, भेजिकार्ट टिम, युवा, एम एण्ड बी, रिंग द बेल टिमबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा तारो गर्लस् समूह प्रथम भएको थियो भने ढिडो हाउस फस्ट रनरअप र भेज कार्ट टीम सेकेन्ड रनरअप भएका थिए । प्रतिस्पर्धी समूहले वीरगञ्जको सन्दर्भमा तयार पारेका व्यावसायिक योजना र प्रस्तुतिका आधारमा विजेता घोषणा गरिएको आयोजकले बताएको छ ।
पहिलो हुने टिम राष्ट्रिय स्तरिय प्रतियोगितामा भाग लिन पाउने छ तथा त्यहाँबाट बिजेता भएका टिम अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रथम हुने टिमलाई १० लाख डलर पुरस्कार पाउने छ ।
सो प्रतियोगिताको निर्णायक मण्डलमा जडिबुटी व्यवसायी संघका अध्यक्ष सरोज कोईराला, एनपिएलका डाईरेक्टर अरबिन्द अमात्य, सिटिजन बैंक प्रदेश नं.२ का प्रबन्धक दिवश सिंह ठकुरी, सनराईज बैंक बिरगंज शाखाका प्रबन्धक दिपेश खडकी, नबिल बैंक प्रदेश नं.२ का प्रबन्धक कृष्णा थापा, वीरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानी, डेसिमल कलेजका डाईरेक्टर सुष्मा तिवारी, प्याप्सन पर्साका अध्यक्ष हरिशंकर साह, युवा व्यवसायी अनुप अग्रवालले आज भाग लिएका ६ टिमको निर्णय गरि बिजेता घोषणा गरेका थिए ।
सो कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दीपेन्द्र चौहान, क्यान नगर अध्यक्ष आलोक चौरसिया, बिपिसीका अरबिन्द श्रेष्ठ, बासुदेव लाल कर्ण, लगायत संचारकर्मी तथा सो कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य हल्ट प्राईज बिपिसीका संयोजक मनिष चालिसेले दिएका थिए भने कार्यक्रमको सन्चालन सन्चारकर्मी शिवम साहले गरेका थिए ।