पर्सा बाराका मजदुरहरुद्वारा र्‍याली प्रदर्शन तथा मन्त्रालयमा ज्ञापन

26

संतोष रन्जितकार
वीरगंज, २८ मंसिर ।
पर्सा–बारा औद्योगिक करिडोरका मजदुरले वीरगञ्जमा प्रदर्शन गरेका छन् । सरकार र रोजगारदाता दुवैतर्फबाट श्रमिक शोषित र असुरक्षित हुन परेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । मजदुरले वीरगञ्ज–११ श्रीपुरस्थित श्रम तथा रोजगमर कार्यालय वीरगंजबाट निकालेका र्‍याली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समापन गरिएको थियो ।
सो र्‍याली प्रदर्शनमा सहभागीहरुले हाम्रो आन्दोलन जारी छ, मजदुर एकता जिन्दावाद, ठेक्का पट्टा अन्त्य गर, निष्कासित मजदुरको बहाली गर, श्रम ऐन कार्यान्वयन गर, वेतन वृद्धि लागू गर लगायतका नारा लगाएका थिए । कोभिड–१९ को समस्या औल्याउँदै बारा, पर्सा लगायत देशैभरी श्रमिकको पारिश्रमिक कटौती, आपूर्तिकर्ता मार्फत श्रमिक नियुक्ती गरी नियमित श्रमिक कटौती, सम्झौता अनुसारको सेवा सुविधामा नदिने गरिएको मजदुरको गुनासो छ । सरकारका तर्फबाट २/२ वर्षमा वृद्धि हुनुपर्ने वेतन वृद्धि समेत रोकिएको उनीहरुले आपत्ति जनाएका थिए ।
अखिल नेपाल औद्योगिक मजदुर संघको आव्हानमा निकालिएको र्‍याली पश्चात सहभागिहरुले जिल्ला प्रशासन कार्यालय पर्सा र श्रम तथा रोजगार कार्यालय मार्फत मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
विभिन्न प्रतिष्ठानमा देखिएको समस्या समाधाका लागि ट्रेड युनियनले पहल गर्दा दर्जनौं मजदुर निष्काशनमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै श्रम कार्यालयले श्रमिकको भन्दा उद्योगीको पक्षमा बढी उभिने गरेको, प्रतिष्ठानमा हुने वासस्थान कोष रोजगारदाताले कानुन विपरित सञ्चालन गरिरहेको, राष्ट्रिय कल्याणकारी कोषले २५ वर्षमा अरबौं रकम जम्मा गरेको भएपनि श्रमिकको पक्षमा शून्य अवस्था रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सरकार र रोजगरदाता दुवैतर्फबाट शोषित र असुरक्षित हुन पुगेकोले मजदुरमागि हुँदै आएको विभेद र अत्याचार तत्काल बन्द गर्न अखिल नेपाल औद्योगिक मजदुर संघले आग्रह गरेको छ ।