उखु किसानहरुको समर्थनमा वीरगंजमा प्रदर्शन

48

संतोष रन्जितकार
वीरगंज, ३० मंसिर ।
काठमाडौंमा जारी उखु किसान आन्दोलनको समर्थन गर्दै वीरगञ्जका युवावर्ग तथा समाजसेवीहरुले मंगलबार सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन् । वीरगञ्जको घण्टाघरमा उखु किसानको समर्थनमा सो युवावर्ग, किसान, नागरिक समाजका अगुवा तथा समाजसेवीहरुले प्रदर्शन गरेका हुन् ।

किसानले रगत पसिना एक गरी उब्जाएको उखुको भुक्तानी नदिएर उद्योगीले अन्याय गरेको देख्दा पनि सरकार कानमा तेल हालेर बसेको प्रदर्शनमा सहभागी जनता समाज पार्टी (जसपा)का युवा नेता ओम प्रकाश सर्राफले बताएका थिए । उखु किसानको बक्यौता पैसा दिइरहेको छैन । किसान जाडोको समयमा रगत पसिना बगाएर उब्जाएको उखुको पैसा माग्न काठमाडौंमा आन्दोलनमा छन्,’ उनले भने, ‘तिनै किसानको माग पुरा होस् भनेर किसानको समर्थनमा प्रदर्शन गरेका हौं ।’ उखु किसान संघर्ष समितिसँग गतवर्ष भएको पाँच बुँदे सम्झौता पूरा नगरे वीरगञ्जमा चरणबद्ध रुपमा आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिएका थिए ।


सरकारको यो रवैया देखेर किसान मात्र नभई देशभरीका विभिन्न युवा वर्ग तथा समाजसेवीहरुमा आक्रोश उत्पन्न भएको र भोलीका दिनमा वीरगंज जस्तै देशका अन्य ठाउँमा पनि किसानहरुको समर्थकहरुले प्रदर्शन गर्ने तथा आन्दोलनमा उत्रने निश्चित रहेको एक प्रदर्शनकारीले बताएका थिए । उनले किसान भनेको हाम्रो अन्नदाता हो, उनीहरुको रकम मारेमा हामी चुप लागेर नबस्ने भनी आक्रोश समेत पोखेका थिए ।
प्रदर्शनमा सरकार किसानलाई बाँच्न देऊ, २०७६ पुस १८ गते भएको पाँच बुँदे सम्झौता लागू गर, किसान मार्न पाइँदैन लगायतका विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरिएको थियो ।
जसपा नेपालका केन्द्रीय सदस्य मोनिका सिंहले किसानमाथि अन्याय गर्नेलाई कारबाही हुनुपर्ने बताइन् ।