प्रदेश नं. २ मै एक मात्र चारतारे रिसोर्ट वीरगन्जमा संचालन

849

संतोष रन्जितकार
वीरगंज ।
बीरगंजमा ४ स्टार होटेल सचालनमा आएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१४ बहुअरीमा दुई बिघा जग्गामा फैलिएको हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आएको होटेलका अध्यक्ष ब्यवसायी सुनिल खेतानले होटेलको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका हुन् ।
प्रदेश नं. २ मै एक मात्र चारतारे रिसोर्ट वीरगन्जमा सञ्चालनमा आए पछि बिदेशी पर्यटक र स्वदेशी पाहुनालाई वीरगन्जमा बस्न सहज हुने उनले बताए । भारतको चर्चित होटल ब्रान्ड क्लार्कको व्यवस्थापकीय जिम्मेवारी लिएको रिसोर्टमा ६० वटा आरामदायी कोठा, १५ सयदेखि २ हजार व्यक्ति अट्न सक्ने कन्भेन्सन हल, डेढ सयदेखि ३ सयजना अट्ने चारवटा व्यवस्थित सभा हल, स्वीमिङ पुल, क्यासिनो, ओपेन एयर थियटर पार्क, ओपेन एयर किचेन, पार्कि· स्थल, बगैंचा लगायतका संरचनाहरु सो होटेलभित्र रहेका छन् ।
हाल रिसोर्टमा जन्मदिन, वैवाहिक वर्षगाँठ, वैवाहिक कार्यक्रमको बुकिङ खुला गरिएकोमा एक साथ ५ वटासम्म कार्यक्रम सम्पन्न हुुने संचालन खेतानले बताए । व्यवस्थापकीय पक्षको जिम्मा लिएको क्लार्कले १५ जना कर्मचारी नियुक्त गरेको छ भने रिसोर्टले नेपाली ५० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने प्रारम्भिक चरणको तयारी रहेको उनको भनाइ छ । नारायणी सिँचाइ डिभिजन नं .५ गण्डक बहुअरीभन्दा ७ सय मिटरपूर्व अवस्थित रिसोर्टले एक सातादेखि कन्भेन्सन हल र रेस्टुरेन्ट सञ्चालनमा ल्याएको जानकारी समेत गराए ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका खेतानले वीरगन्जमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गर्दै भारतको क्लार्क ब्रान्डले लखनउको पाँच तारे होटल अवधबाट जारी राखेको होटल फ्रेन्चाइजसँग नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन होटलको रूपमा हिमाल वाटर पार्क एन्ड भिलेज रिसोर्टलाई अनुबन्धित गरिएको उनको तर्क छ । क्लार्कको पहिलो विदेशी प्रडक्ट भएकाले पनि अन्तर्राष्ट्रिय स्तरको रिसोर्टको सुविधाले नेपाली ग्राहक तथा देश घुम्न आउने बिदेशी पर्यटकले सेवा सुविधाबाट फाइदा लिन सक्ने उनको भनाइ रहेको छ । वीरगन्जमा अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत सञ्चालन हुने दियालो लड्र्स प्लाजापछि यो दोस्रो लगानीको होटल पार्क हो ।
तीन वर्षको अथक प्रयासपछि अहिले निर्माणको अन्तिम चरणमा हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्टमा ६० वटा कोठा सहितको होटल ब्लकको काम जारी गरिएको व्यवस्थापकको भनाइ छ । आगामी ८ महिनामा होटल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने खेतानले बताए । उनका अनुसार होटल ब्लक बनेपछि रिसोर्ट परिसरमा चार वटा एक्जुकेटिभ स्विट्स, आठवटा एक्जुकेटिभ कोठा, आठ वटा स्विट्स, २६ वटा किङ र फुल फ्लेज्ड रेस्टुरेन्ट सञ्चालनमा आउनेछ । पूर्ण रुपमा रिसोर्ट सञ्चालनमा आएपछि साढे ४ देखि ७ हजारसम्ममा आरामदायी कोठा बुक सुरु गर्ने रिसोर्टको तयारी रहेको संचालक खेतानले बताए ।


ग्लोबल आइएमई बैंकले ऋण उपलब्ध गराएको रिसोर्टले काठमाडौंपछि वीरगन्जमा स्तरीय रिसोर्ट सञ्चालनमा ल्याएको संचालकको दाबी छ । प्रदेश २ मा बिहार, उत्तरप्रदेश तथा अन्य राज्यबाट वैवाहिक कार्यक्रम तथा अन्य औद्योगिक प्रयोजनका लागि आउने पर्यटकलाई पनि लक्ष्य गरी होटल क्लार्क पार्क निर्माण गरिएको संचालक खेतानले बताए ।
पत्रकार सम्मेलनमा होटेलका कम्पनी सन्चालक सुदिप खेतान, होटेलका जेनेरल मेनेजर राजेश रन्जन, प्रोजेक्ट मेनेजर रबिन्द्र रैना, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का अध्यक्ष दीपेन्द्र चौहान र माउन्टेन टेलिभिजनका ब्युरो प्रमुख महेश दासको सहभागिता रहेको थियो ।