विद्यार्थीहरुको पठनपाठनमा प्रभाव पर्ने गरी दरवबन्दी मिलान नगर्ने : मेयर सरावगी

मेयर सरावगीद्वारा सिद्धार्थ माविको चारकोठे भवनको शिलान्यास सम्पन्न

55

संतोष रन्जितकार
वीरगंज, २ पुस ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विद्यार्थीहरुको पठनपाठनमा प्रभाव पर्ने गरी दरवबन्दी मिलान नहुने बताउनु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनिमील आवासक्षेत्र स्थित सिद्धार्थ माध्यामिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा वहाँले यस्तो बताउनु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख सरावगीले महानगरपालिकाले शिक्षक दरवन्दीको मिलान गरेर पर्सा जिल्लामा एउटा ऐतिहासिक काम भएको दावी गर्नुभएको छ । यसले ग्रामीण क्षेत्रका विद्यालयहरुमा समेत पठनपाठनको लागि शिक्षकको व्यवस्थापनमा सहयोग पुगेको उहाँको भनाई छ । शिक्षक शिक्षिकाहरुको समस्याको बारेमा पनि आवश्यक सम्बोधन गरिने उहाँले बताउनु भयो ।
विद्यालयको पठन पाठन विग्रिने गरी दरबन्दी कायम नगरिने बताउदै नगरप्रमुख सरावगीले जहाँ बढी दरबन्दी काटिएको छ त्यहाँ उचित व्यावस्थापन गरिने र त्यसको लागि प्रधानाध्यापकले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
सिद्धार्थ माध्यामिक विद्यालयमा निर्माण हुन लागेको चारकोठे भवनको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले यसअघि निर्माण सम्पन्न भएको तीनतले भवनमाथि दाताको सहयोगमा चारवटा कोठ थप गर्ने जानकारी दिनुभयो ।
थपिने भवनको दुईकोठामा कक्षा कोठा र दुईवटा कम्प्युटर र विज्ञान प्रयोगशालाको लागि प्रयोग गरिने बताउनुभयो । उद्योगी राजु गाडियाको सहयोगमा पनि भवन निर्माण हुने वीरगन्ज महानगरपालिपकाकाले पनि थप चारवटा कोठमा बनाउने बताउनुभयो । शिलान्यास गरिएको भवन निर्माण सम्पन्न भएपछि बीचको पूरानो भवन भत्काउने र खेल मैदान बनाउने उहाँले बताउनुभयो ।
विद्यालयको आम्दानीको लागि अगाडि सडकतर्फ सटर बनाईने र यसले विद्यालयको आयस्रोत पनि हुने उहाँको भनाई थियो । आउने दिनहरुमा साधन स्रोतहरु आवश्यकता अनुसार उपलब्ध गराईने नगर प्रमुख सरावगीले बताउनुभयो ।
वीरगन्जका उद्योगी व्यावसायीहरुलाई विद्यालयको पूर्वाधार विकासमा सहयोग पाउनकै लागि आग्रह गरेर व्यावस्थापन समितिमा राखिएको बताउदै अब प्राविधिक विद्यालय र कलेजको पनि स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, अभिभावक, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीहरु तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।