बेलायतमा देशव्यापी लकडाउन

34

काठमाडौं ।

कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमणले थलिएको बेलायतमा फेरि लकडाउन लगाइएको छ । प्रधानमन्त्री बोरिस जोनसनले टेलिभिजनमार्फत  सम्बोधन गर्दै पुनः लकडाउनको घोषणा गरेका हुन् ।

उनले सम्वोधनमा भनेका छन्, ‘सबै अनिवार्य रुपमा घरमै बसौं । कोरोनाको नयाँ स्वरुप आएकाले मध्य फेब्रुअरीसम्म घरमै बसौं ।’

मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द भएका छन् । परीक्षा समेत रोकिएको छ । जोनसनले आगामी हप्ता सबैभन्दा खतरापूर्ण हुने भन्दै बिरामीहरुको संख्या समेत बढिरहेको बताएका छन् ।

उनले आगामी महिनाको मध्यसम्म शीर्ष चार प्राथमिकतामा परेका समूहलाई पहिलो चरणको कोरोना खोप लगाइसकिने पनि बताएका छन् ।

उनले यो अन्तिम चरणको संघर्ष भएको पनि बताएका छन् । सोमबार मात्रै बेलायतमा ५८ हजार ७८४ जना संक्रमित थपिएका छन् भने ४०७ जनाको ज्यान गएको छ ।