भोजपुरी भाषा र संस्कृति सरकारको प्राथमिकतामा नपरेको कारण विकास हुन सकेन : मुख्यमन्त्री गद्दी

15

वीरगंज, ९ फागुन ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सरकारको प्राथमिकतामा नपरेको कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । अन्तर्राष्टिूय मातृभाषा दिवसका अवसरमा आइतबार वीरगंज महानगरपालिका वडा नम्बर ८ गहवामा रहेको जग्गामा भोजपुरी प्रतिष्ठानको भवनको शिलान्यास गरिएको हो ।
वीरगञ्जको गहवामा आज आयोजित एक समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध मानिने भोजपुरीलगायत अन्य भाषाहरूको विकास हुन नसकेको तर्क गर्नुभयो ।
करीब रु चार करोड लागतमा चार तले आधुनिक भवन बन्न लागेको हो । उहाँले नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा गरी ३५ करोडभन्दा बढीले बोलचालमा प्रयोग गर्ने भोजपुरी भाषा अति नै समृद्ध भए पनि यसको विकासका लागि राज्यले देखाएको उदासीनताकै कारण भोजपुरीपछि पर्दै गएको बताउनुभयो ।


भोजपुरी भाषा र संस्कृतिको बृहत्तर विकासका लागि प्रदेश सरकारले निकट भविष्यमै प्रदेशस्तरी भोजपुरी प्रतिष्ठान गठन गरी आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेर बजेटसमेत विनियोजन गर्ने मुख्यमन्त्री गद्दीले प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नंं २ का भौतिक निर्माण तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राजन्त्रमा खस भाषाको मात्र विकासका लागि काम भए पनि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै भाषाहरूलाई विकास गर्ने वातावरण निर्माण हुँदै गएको बताउनुभयो ।
उहाँले अब प्रदेश र स्थानीय तहसमेतले आ(आफ्नै कामकाजको भाषा कायम गर्न सक्ने संविधानले नै अधिकार दिएको बताउनुभयो । भोजपुरी भाषा र संस्कृतिको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने र वीरगञ्जमा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवनका लागि सक्ने आर्थिक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भोजपुरी प्रतिष्ठानका संरक्षकसमेत रहेका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा जनता समाजवादी पार्टी नेपालका नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, हरिनारायण रौनियार, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतका वक्ताहरुले भोजपुरी भाषालाई सरकारी कामकाजको भाषमा रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वीरगञ्जका नगरप्रमुख सरावगीले निकट भविष्यमै भोजपुरी भाषालाई वीरगञ्ज महानगरपालिकाले कामकाजको भाषा बनाउने र यसतर्फ गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
भोजपुरी प्रतिष्ठान, बिरगन्जको भवन शिलान्यास एव बहुभाषिक कवि सम्मेलन कार्यक्रममा प्रदेश सभासदस्य जन्नत असारी, प्रह्लाद गिरी, करिमा बेगम, भिमा यादव, नेपाली काग्रेस पर्साका सभापति अजय द्विवेदी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा लगायतका नेता कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।