प्रेममा असफल भएको भन्दै वडा प्रहरी कार्यालय बिर्ताका प्रमुखको कक्षबाट हाम फाली आत्महत्याको प्रयास

5,432

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
वडा प्रहरी कार्यालय बिर्तामा एक युवकले आत्महत्याको प्रयास गरेका छन् । प्रेममा असफल भएको भन्दै युवकले वडा प्रहरी कार्यालयको भवनबाट सोमबार हाम फाली आत्महत्या गर्ने प्रयास गरेका हुन् । सो युवकले एक युवतीलाई एकतर्फी मन पराउने गरेको तर युवतीले भने यसलाई मन नपराएकोले उनी मानसिक तनावको शिकार बन्दै गएका थिए । वीरगंज महानगरपालिका वडा नं. १५ बस्ने बिराट झाले सो युवतीलाई विभिन्न किसिमका सन्देशहरु (म्यासेज) लेखी पठाउने गरेकोले उनले वडा प्रहरी कार्यालय बिर्तामा उजुरी दिएकी थिइन् । सोही उजुरीको सम्बन्धमा उनलाई सोधपुछको क्रममा वडा प्रहरी कार्यालय बिर्ताबाट खटेका प्रहरीले करिब साढे ८ बजेको समयमा नगवा एरियाबाट आइतबार पक्राउ गरी ल्याएर रातभरी थुनामा राखेको थियो । उनले सो युवतीलाई म संग बिहे गर, म तलाई धेरै मन पराउंछु, मसंग बिहे नगरे म तलाई मारी दिन्छु लगायतका कुराहरु लेखी बारम्बार म्यासेज गर्ने, फोन गर्ने तथा मानसिक यातना समेत दिने गरेकोले युवतीले बाध्य भएर उजुरी दिएकी थिइन् ।
सोही क्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरीको कक्षमा सोमबार दुवै पक्षलाई राखेर सोधपुछ गर्ने क्रममा झाले आफ्नो गल्ती स्वीकार्दै अबदेखि यस्तो गल्ती नगर्ने भनी माफी समेत मागेका थिए भने झाले अन्तिम पटक सो युवतीसंग केही कुरा गर्ने भनेका थिए तर युवतीले अस्वीकार गरेपछि उनले वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख पुरीको कक्षबाट हामफालेका थिए । पुरीको कक्ष भवनको माथिल्लो तल्लामा रहेको छ । झाले हामफाले लगत्तै वडा प्रहरी कार्यालय बिर्ताको भ्यानमा राखी नारायणी अस्पताल पुर्याइएको थियो, टाउकोमा गम्भीर चोट लागेकोले परिवारको आग्रहमा उनलाई बिरगंजको पानीटंकीमा रहेको न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरी निरीक्षक पुरिले जानकारी गराएका थिए ।
पुरिका अनुसार झाले एकतर्फी सो युवतीलाई मनपराएको र सो युवतिले कुरा नगर्ने भनेपछि आवेगमा आई माथी तल्लाबाट हाम फालेको हुन सक्ने बताए । उनको बारेमा थुनामा रहेका अन्यलाई सोधपुछ गर्दा मानसिक सन्तुलन ठिक नभएको जस्तो लागेको, रातभरी छट्पटाएर बसेको र नसुतेको एक थुनुवा चन्दन महतोले बताएका थिए ।