म्यानमार सैन्य ‘कू’: एकैदिन कम्तीमा ३४ प्रदर्शनकारीको मृत्यु

30

काठमाडौं । म्यानमारमा सैन्य कूको विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा ३४ जनाको ज्यान गएको छ । बुधबार एकै दिन ठूलो संख्यामा ज्यान गएको हो ।

मारिनेमा १४ र १७ वर्षका बालकहरु पनि रहेको बीबीसीले जनाएको छ । त्यस्तै १९ वर्षीया युवतीको पनि ज्यान गएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा भएको यो घटना अहिलेसम्मकै ठूलो हो । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी प्रदर्शनका क्रममा पछिल्लो समय सुरक्षाकर्मीले निर्मम व्यवहार देखाउँदै आएको छ ।
सुरक्षाकर्मीको निर्मम व्यवहारको विश्वले नै गम्भीर रुपमा लिएको छ । संयुक्त राष्ट्रसंघले अत्याचार नगर्न पटक पटक सेनालाई चेतावनी दिए पनि सेनाले वास्ता गरेको छैन ।

युरोपेली राष्ट्रहरूले म्यानमारलाई प्रतिबन्ध लगाइसकेका छन् ।

सेनाले सत्तारुढ दलकी नेतृ आङसाङ सूचीसहित विभिन्न नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै नयाँ निर्वाचन गराउने घोषणा गरेको सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणासमेत गरेको छ ।
सूचीलाई केही दिनअघि अदालतमा पेश गरिएको भिडियो सार्वजनिक गरिएको थियो । अन्य नेताहरुलाई कहाँ राखिएको छ भन्ने पनि यकिन भएको छैन ।

सूचीलाई पनि कहाँ राखिएको छ भन्ने सेनाले बताएको छैन ।