आज दशैंको चौथो दिन : शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

18

काठमाडौं–

दशैँअन्तर्गत आज नवरात्रको चौंथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिँदैछ। आज पनि बिहानैदेखि विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो रहेको छ।
भगवती दुर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ति भएको धार्मिक विश्वास रहेको धर्मशास्त्रविदको भनाइ छ। कुष्माण्डा भगवतीको पूजाले आयु, यश, बल, आरोग्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

बिहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडा दशैं सुरु भएको हो।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।

पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।