चीन र पाकिस्तानबीच बढ्दो तिक्तता

8

यितेन्द्र शर्मा
इस्लामिक गणतन्त्र पाकिस्तान र श्रीलंकालाई दक्षिण एशियामा चीनको भरपर्दो सहयोगी मानिन्छ । पाकिस्तान र श्रीलंकाले आँखा चिम्लेर चीनमाथि विश्वास पनि गर्दछन् । तर हाल केही यताका वर्षहरुमा चीनका कतिपय क्रियाकलाप यस मित्रतामा तिक्तता ल्याउने काम गरेको छ । अब पाकिस्तान र श्रीलंका पनि यो कुरा राम्ररी बुझ्न थालेको छ कि चीनसँगको मित्रता एकपक्षीय हुने गर्दछ र यसमा एक्लो चीनलाई मात्रै लाभ हुने गर्दछ । गत महिनामात्रै श्रीलंकाले चीनबाट आयात गरिएको ९६ हजार मेट्रिक टन आर्गेनिक मललाई अस्वीकार गरी फिर्ता पठाउनुले चीनलाई ठुलो क्षति पुगेको छ भने अब पाकिस्तान पनि चीनमाथि विश्वास गर्न छाडेको छ । पाकिस्तानलाई चीनको कथित सदाबहार साझेदार मानिन्थ्यो तर हाल यी दुई देशबीचको दुईपक्षीय सम्बन्धमा गम्भिर फाटो उत्पन्न भएको छ । चीनले विभिन्न अवसरहरुमा पाकिस्तानलाई अपमान गरेको अनुभूति पाकिस्तानलाई हुन थालेपछि यस दुईपक्षिय सम्बन्धमा फाटो आएको हो ।
चीन पाकिस्तान आर्थिक करिडोर सिपिइसी र दुरसञ्चार टाँवर सम्बन्धि चाइना मोबाइल पाकिस्तान (सिएमपाक) का कारण पाकिस्तान र चीन बीचको दुईपक्षिय सम्बन्धमा गम्भिर विवाद उत्पन्न भएको छ । यसले आपसमा दुरी बढाउने निश्चित छ । इजरायली सन्चार माध्यम सेर्गोई रेष्टेलीका अनुसार पाकिस्तान र चीनबीचको सम्बन्धमा अहिले हिमालय भन्दा अग्लो र सागरभन्दा पनि गहिरो फाटो उत्पन्न भएको छ । केही अघिसम्म पाकिस्तान र चीनका राजनीतिज्ञहरुले यही भन्दै आएका थिए कि पाकिस्तान र चीनबीचको सम्बन्ध हिमालभन्दा अग्लो र महासागरभन्दा पनि गहिरो रहेको छ । आज परिस्थिती ठिक विपरित देखिन्छ । यद्यपि अहिले पनि यी दुई देशका सरकरमा शामिल पक्षहरु र सन्चारजगत पनि दुईपक्षिय सम्बन्धलाई सकारात्मक दिशामा र मैत्रीपूर्ण भएको नै दाबी गरिरहेका छन् तर यर्थाथ भन्ने यस्तो होइन ।
चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) सम्झौता चीन र पाकिस्तानले हस्ताक्षर गरेदेखि नै यसको कार्यान्वयन, पारदर्शिता, सार्वजनिक नगरिएका सेवा र शर्तहरु, ऋण प्रवाह, चिनियाँ कामदारहरुको अवस्था, बढ्दो ऋणभार लगायतका विषयमा छलफल भएको थियो । केही अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खान स्वयम्ले पनि सिपेक सम्झौताका बारेमा धेरै कुरा आफुलाई थाहा नभएको बताएका थिए । यसअघि सिपेक परियोजनामा भएको बम बिस्फोटमा चिनियाँ कामदारहरु मारिएपछि चीनले ३८ मिलियन अमेरिकी डलरको क्षतिपूर्तीको दाबी गरेको छ । वैदेशिक ऋणमा चुर्लुम्म डुबिसकेको पाकिस्तानको निम्ति यति ठूलो रकम क्षतिपूर्तीको रुपमा व्यहोर्नु त्यो पनि आफ्नो भरपर्दो मित्रलाई अवश्य पनि अनौठो लागिरहेको हुन सक्दछ । पाकिस्तानमा पछिल्लो समय चिनियाँ नागरिकहरुमाथि दुव्र्यवहार हुन थालेपछि चीन पाकिस्तानप्रति कठोर बन्दै गएको छ ।
यद्यपि नत चीन र नत पाकिस्तानले नै आफुहरु बीचको दुईपक्षिय सम्बन्धमा कटुता थपिएको कुरालाई स्वीकार गरिरहेका छन् तर पछिल्ला घटनाक्रमहरु र उनीहरुका गतिविधिहरुले भने सम्बन्ध राम्रा नभएको स्पष्ट पार्दछ । ६२ बिलियन अमेरिकी डलर बराबरको चीन पाकिस्तान आर्थिक करिडोरका लागि चीनले थप लगानी नगरेपछि पनि चीन पाकिस्तान सम्बन्धमा समस्या सिर्जना भएको हो ।
६२ बिलियन अमेरिकी डलरको लगानीमा निर्माण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोर मूलतः चिनियाँ ऋण लगानीको परियोजना हो । शुरुमा त चीनको सिनजियाङ्ग को काश्गरदेखि पाकिस्तानको गवादर बन्दरगाहसम्म निर्माण भई रहेको यस परियोजनाबाट पाकिस्तानको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको थियो तर होइन, अहिले त यो पाकिस्तानको घाँटीमा अडकेको हाड सावित भएको छ, जसलाई नत निगल्न नै सकिन्छ नत उक्लिन नै सकिन्छ । सिपेक सम्झौतामा हस्ताक्षर भएदेखि नै पाकिस्तानमा विभिन्न थरिका आशंकाहरु उब्जिएका थिए । खासगरिकन यसमा पारदर्शिताको अभाव, अदृश्य नियम एवं शर्तहरु, चिनिया श्रमिकले पाकिस्तानमा काम गर्दा उत्पन्न हुन सक्ने समस्या र देश ऋणमा डुब्ने लगायतका विषयहरु थिए ।
चीनले पाकिस्तानका तीन ठुला राजमार्ग निर्माण परियोजनाहरु २१० किलोमिटर लामो डेरा इस्माईल खान–बझेव राजमार्ग, ११० किलोमिटर लामो खुज्दार–बसिमा सडक खण्ड र १३६ किलोमिटर लामो रायकोट–थाकोट सडकखण्ड जुनकि काराकोरम राजमार्ग अन्तरगत पर्दछ, त्यसको निर्माणमा विगत तीन वर्षदेखि चीनले चासो देखाएको छैन । परियोजनाको निर्माणमा जति बढी समय लाग्ने गर्दछ त्यतिनै लागत खर्च पनि बढ्ने गर्दछ । अब पाकिस्तानले पनि यस कुराको अनुभूति गर्न थालेको छ कि चीन आफ्ना सहयोगी एवं वफादार राष्ट्रहरुको प्रयोग आफ्नो निहित राजनीतिक स्वार्थपूर्तीको निम्ति मात्रै गर्ने गर्दछ । मित्र राष्ट्रको आर्थिक प्रगति होस भने चाहना यसको हुँदैन ।