Home समाचार निर्वनचन अधिकृत पाण्डे पनि फर्किए, सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

निर्वनचन अधिकृत पाण्डे पनि फर्किए, सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

by अंकुश दैनिक
0 views

सर्लाही,

नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डे पनि यसै फर्किएका छन् ।

पाण्डे नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको सल्लाहअनुसार नै शुक्रबार साँझ काठमाडौं फर्किएका हुन् । बिहीबार मध्याह्न सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसकै एक समूहले हातपातसमेत गरेको थियो । पाण्डेमाथि कुटपिटकै स्थिति सिर्जना भएका कारण फिर्ता बोलाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

पाण्डे फिर्ता भएसँगै सकेसम्म शुक्रबार राति नै नभए पनि शनिबार बिहानसम्म नयाँ निर्वाचन अधिकृत तोकेर पठाउने तयारी भइरहेको उन्ले बताए । ‘उहाँमाथि कुटपिटकै अवस्था भएपछि उहाँलाई किन असजिलो बनाएर काम लगाउने ?’, उन्ले भने, ‘हामीले पाण्डेजीलाई फिर्ता बोलाएका छौँ, उहाँको ठाउँमा तुरुन्तै अर्को व्यक्ति पठाउँछौँ ।’ बिहीबार मलङ्गवास्थित जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेका बेला कांग्रेसकै एक समूहले निर्वाचन अधिकृत पाण्डेमाथि हातपात गरेक‍ो हो ।

त्यसलगत्तै पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । तर, अवस्था सामान्य छ । दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृतका रूपमा सर्लाही आइपुगेका विनोद कार्कीसमेत राजीनामा बुझाएर काठामाडौं फर्किएका थिए । कार्की गएलगत्तै कांग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर पठाएको थियो । पाण्डेकै अध्यक्षतामा गएको सोमबार बसेको बैठकले बिहीबार जिल्लाका २० वटै पालिकाका सबै २०० वटा वडामा वडा अधिवेशन गराउने निर्णयसमेत भएको थियो ।

तर, जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषयमा भएको असहमतिले उग्र रूप लिएको हो । हालका अध्यक्ष र पूर्वअध्यक्ष पक्षबीचको विवाद पेचिलो बन्दै जाँदा सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । नेता तथा कार्यकर्ताबीच नैराश्य बढ्दै  गएको छ । मुख्य गरी पछिल्लो समय जिल्लाको क्षेत्र नम्बर- ४ मा ककसलाई मतदान अधिकृतका रूपमा खटाउने भन्ने विवाद पेचिलो बनेको हो ।

सर्लाहीमा केन्द्रीय सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल खेमाबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ । जिल्लामा क्रियाशील सदस्यता वितरणमा समेत ठूलै विवाद खडा भएको थियो । एक पक्षले एउटा र अर्को पक्षले अर्को कुरा गर्ने गर्दा निर्वाचन गराउन समस्या भएको निर्वाचन अधिकृतहरूको भनाइ छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.