भारत–रुस रक्षा सम्झौताले पार्ने प्रभाव

11

यितेन्द्र शर्मा
रुसका राष्ट्रपति ब्लादिमिर पुटिन आउँदो डिसेम्बर महिनाको पहिलो सातामा एक दिने भारत भ्रमणमा आउँदै छन् । सन् २०२१ मा पुटिनको यो दोस्रो विदेश भ्रमण हुनेछ । रशियाली राष्ट्रपतिको यस भ्रमणलाई दुरगामी महत्वको मानिन्छ । उनको आगमन भन्दा केही अघिमात्रै एक जना रुसी वरिष्ठ अधिकारीले रुसले भारतर्लाइ एस–४०० नामक सतहबाट हावामा प्रहार गर्न सक्ने अत्याधुनिक मिसाइल प्रणालीको आपुर्ति गर्ने संकेत गरेका छन् । झण्डै चार सय किलोमिटर टाढासम्म आकाशमा उडान गरिरहेका लडाकु विमान वा मिसाईललाई हवामा नै ध्वस्त पार्न सक्ने क्षमता भएको आधुनिक मिसाईल प्रणाली भारतले खरिद गरेबाट आफ्नो परम्परागत प्रतिद्वन्दी राष्ट्र चीन र पाकिस्तानलाई कडा सन्देश दिन खोजेको देखिन्छ । भारतले रुसबाट एस–४०० खरिद गरेका कारण अमेरिका र भारतबीचको नजिकिदो सम्बन्धमाा कटुता त थपिने होइन ? पाकिस्तान र चीन अझ नजिक त आउने होइन ? तथा भारत र रुसबीचको दशकौं पूरानो सम्बन्धले थप घनिष्ठता त पाउने होइन लगायतका अनेकौ प्रश्नहरु चर्चामा छन् ।


सन् २०१८ को अक्टोबरमा भारतले रुससित ५ बिलियन अमेरिकी डलरको वायु रक्षा मिसाईल प्रणालीका पाँच इकाईहरु खरिद गर्नका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो । सन् २०२० मा साउदी अरबपछि सबैभन्दा बढी हतियार खरिद गर्ने राष्ट्र भारतले चीनसित एकपटक युद्ध लडिसकेको तथा पटक–पटक सिमानामा झडपका घटना हुने गरेका कारण आफ्नो रक्षा प्रणालीलाई विकसित र आधुनिक बनाउनु स्वभाविकै हो भने अर्कोतिर पाकिस्तानसित उसले पाँच पटकसम्म प्रत्यक्ष रुपमा युद्ध लडिसकेको हो र सिमा क्षेत्रमाा प्रायः झडपका घटना भइरहन्छन् । भारतले एकै पटक चीन र पाकिस्तानसित युद्ध लड्ने अवस्था आयो भने के गर्ने ? यस हिसाबले पनि आफ्नो सुरक्षाको तैयारी गरिरहेको छ । हुनत चीनसित पनि एस–४०० रुसी हतियार रहेको छ तर यसको प्रहार क्षमता २५० किलोमिटरसम्म मात्रै रहेको जबकि भारतसित अत्याधुनिक र थप प्रभवकारी हतियार रहेको छ र यसको प्रहार गर्ने क्षमता ४०० किलोमिटरसम्म रहेको छ । एक पटकमा ३२ विमानलाई ध्वस्त पार्नसक्ने क्षमता भएको एस–४०० अत्याधुनिक मिसाई प्रणालीले भारतको सुरक्षा प्रणालीलाई थप बलियो बनाउने निश्चित छ ।
अमेरिकी प्रतिबन्धको प्रभाव– यसअघि अमेरिकी उप–विदेशमन्त्री बेण्डी शर्मनले गत महिना भारत भ्रमणको क्रममा एस–४०० मिसाईल प्रयोग गर्ने कुनै पनि देशले खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले उक्त मिसाईल प्रणाली कसैको सुरक्षा हितमा नभएको बताएकी थिइन । सोही क्रममा उनले अमेरिका र भारतबीचको खरिदमा देखिएको मतभेदलाई समाधान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।
अमेरिकी प्रशासनको चेतावनीका बावजुद यो सम्झौतालाई बढाइए अमेरिकी प्रतिबन्धहरुको सामना गर्नुपर्ने सम्भावित अवस्थाबाट भारत पनि जानकार नभएको होइन तर क्वाडमा भारत शामिल रहेको साथै इण्डो–प्यासिफिक रणनीतिको एउटा प्रमुख अंग नै भारत रहेको कारण अमेरिका चाहेर पनि टर्की र चीनजस्तो प्रतिबन्ध भारतमाथि लगाउन सक्दैन ।
अमेरिका र रुस विश्वका दुई ठूला हतियार उत्पादक एवं विक्रेता राष्ट्रहरु हुन् । विश्व बजारमा अमेरिकामा निर्यात गर्ने हतियारको प्रतिशत ३७ रहेको छ, जबकि रुस पनि २० प्रतिशतको हिस्सेदारी ओगटेको छ । सन् २०१७ मा ट्रम्प प्रशासनले एक कानून पास गरी रुससित हतियार खरिद गर्ने देशहरुले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने प्रावधान राखेको छ । हतियार निर्यात गर्ने कार्यमा रुसको प्रभावलाई कम गर्ने तथा आफ्नो एकाधिकारलाई कायम राख्न अमेरिकाले सधैँ नै प्रतिबन्धको हतियारको उपयोग गर्दै आएको छ । सन् २०१८ मा अमेरिकाले चीनमाथि यसैकारण प्रतिबन्ध लगाएको थियो कि उसले रुसबाट एस–४०० हतियार खरिद गरेको थियो । त्यसैगरी अमेरिकाले टर्कीमाथि पनि प्रतिबन्ध लगाउनुको प्रमुख कारण उसले रुसबाट एस–४०० हतियार खरिद गर्नुु नै थियो । तर डोनाल्ड ट्रम्पले यस कानूनमाा एउटा कुराको छुट पनि दिएका छन कि यदि कुनै देश परम्परागत रुपमा अर्थात लामो समयदेखि रक्षा सामग्रीको खरिद गर्दै आएको छ भने त्यसको हकमा यो प्रतिबन्ध प्रभावकारी न पनि हुन सक्दछ । भारत र रुसबीच करिब ७० वर्ष पुरानो मैत्री सम्बन्ध रही आएको छ । जसमध्ये ६ दशकभन्दा पुरानो समयदेखिको रक्षा सम्झौता पनि हो र भारतले आयात गर्ने गरेको अथवा खरिद गर्ने गरेको हतियार सामग्रीमा एक्लो रुससँग नै ६८ प्रतिशत कारोबार रहेको छ । तसर्थ अमेरिकाले चाहेर पनि भारतमाथि प्रतिबन्ध लगाउत सक्दैन । भारतले यस अत्याधुनिक एवं प्रभावशाली प्रहारकर्ता हतियारको खरिद गरी चीन र पाकिस्तानलाई चिन्तित अवश्य पनि पारिदिएको छ ।
केही अघिसम्म रुस, चीन र पाकिस्तानबीचको सम्बन्धमा घनिष्ठता आएको थियो तर भारत भन्ने रुसको सर्वाधिक विश्वासिलो र भरपर्दो मित्र राष्ट्र हो । रुसी राष्ट्रपति ब्लादिमिर पुटिन भारतको भ्रमणमा आउने निश्चित भएपछि पाकिस्तानले पनि आफ्नो देशको पनि भ्रमण गर्न आग्रह गरेको थियो तर केवल फोटोसेसनका लागि मात्रै पाकिस्तान आउनुको कुनै अर्थ नभएको भन्दै उनले रुसको निम्ति भारतको महत्व र स्थानबारे प्रष्ट रुपमा सम्झाईदिएको छ । भारत, अमेरिका लगायत विश्वका अनेकौ ठूला एवं शक्तिशाली देशहरुसित आफ्नो मित्रवत सम्बन्ध बनाउन चाहन्छ तर जब विषय रुससित सम्बन्धित आउँछ अनि स्वभाविक रुपमा रुस भारतको पक्षमा र भारत रुसको पक्षमा उभिन पुग्दछ । रुससित भारतले खरिद गरेको एस–४०० आधुनिक एवं प्रभावशाली मिसाइल डिफेन्स सिस्टम भारतको रक्षा प्रणालीलाई थप बलियो बनाउने छ । यस रक्षा सम्झौताबाट चीन र पाकिस्तान अवश्य पनि चिन्तित देखिएको छ ।