अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगरौं : स्वास्थ्य मन्त्रालय

15

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ ।कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो। मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए ।

उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए। ‘नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ’, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनले भने  भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न-गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।