Home समाचार समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल नहुंदा दलित समुदाय उपेक्षामा पर्दै आएका छन् : प्रदेश सभा सदस्य विश्वकर्मा

समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल नहुंदा दलित समुदाय उपेक्षामा पर्दै आएका छन् : प्रदेश सभा सदस्य विश्वकर्मा

by अंकुश दैनिक
1 views

संतोष रन्जितकार
वीरगंज, २९ मंसिर ।
राष्ट्रिय दलित पत्रकार संघ पर्साको वीरगंज महानगरपालिका वडा न. ८ मा रहेको कार्यालयको आज उद्घाटन गरिएको छ । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सुन्दर विश्वकर्माले संघ पर्सा कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विश्वकर्माले जाततन्त्र राजतन्त्र भन्दा पनि धेरै खतरनाक रहेको बताएका थिए । राजतन्त्र अन्त्य भएपनि समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल हुन नसक्दा दलित समुदाय उपेक्षामा पर्दै आएको विश्वकर्माको भनाई रहेको थियो । विगतमा अपमानपूर्वक हुने विभेदको स्वरुप परिवर्तन भएर अहिले सम्मानपूर्वक विभेदको रुप लिएको प्रदेश सभा सदस्य विश्वकर्माले बताए ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागीता बढाउनका लागि सरकारले दलित आरक्षणको व्यवस्था गरेको बताए । समयको विकास क्रमसँगै मानिसको मानसिकता पनि विकास हुने क्रममा रहेको हुँदा विस्तारै जातिय व्यवस्था व्यवहारिक रुपमा पनि अन्त्य हुने पौडेलको विश्वास रहेको छ ।


यसैबीच बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले जातिय विभेदको विरुद्धमा जनतालाई जागरुप बनाउनुपर्नेमा जोड दिएका छन् । दलित पत्रकार संघसँग सहकार्य गरेर जातीय व्यवस्थाको विषयमा बहस गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न संघलाई सुझाव दिँदै संघका हरेक गतिविधिमा सहयोग गर्ने डा. गुप्ताले प्रतिबद्धता जनाएका छन् । समाजमा विभिन्न विभेद खेप्दै गरेका दलितका आवाजहरुलाई दलित पत्रकारले नै उठान गर्नुपर्नेमा गुप्ताले जोड दिनुभएको थियो ।
नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेदजस्ता विकृतीको अन्त्य नहुने बताए । यस्तै पहुँचमा पुगेका दलितहरु नै शासक बन्दा पनि दलित समुदायको उत्थान हुन नसकेको उनले बताए । निर्वाचित जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि एवम् बाहिर समानताका कुरा गर्नेहरुले नै छुवाछुत र जातीय विभेदलाई अंगीकार गर्दा परिवर्तन हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताए । अरुका आवाज उठाउने पत्रकारहरु आफै कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने सोच्नुपर्ने विषय भएको बताउँदै लामिछानेले आफूलाई ठूलो मिडिया हाउस भन्नेहरुले पनि न्युनतम पारिश्रमिक समेत लागु नगरेको बताए ।
संघका जिल्ला अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य गया हजरा पासवान, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, माओवादी केन्द्र प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठा, नेकपा माओवादी केन्द्र वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अंसारी, जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादी पार्टी बिरगंज महानगर अध्यक्ष मनोज चौधरी, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ की कोषाध्यक्ष सावित्री शर्मा, संचारकर्मी महेशचन्द गौतम, दलित पत्रकार संघ पर्साका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संघका सल्लाहकार बृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.