जम्मु काश्मिरमा खुसी उल्लासका दिन फर्किदै

41

यितेन्द्र शर्मा
हालै भारतको जम्मु काश्मिरमा एक जना प्रहरी र तिनका भाईलाई आतंककारीहरुले हत्या गरेको विरोधमा अब त्यहाँका स्थानीय जनता यसको प्रतिकार गर्न सन् १९८० को दशकतिर पंजाबका जनताले प्रतिकार समूहको गठन गरेजस्तै अब जम्मु काश्मिरका नागरिक पनि आतंककारीहरुसित मुकाबिला गर्न प्रतिकार समितिको गठन गर्ने निष्कर्ष निकालेका छन् । पंजाबशैलीको माध्यमबाट नै जम्मु काश्मिरमा पनि आतंकवादलाई समाप्त गर्न सकिने विश्वास स्थानीय बडगामका जनताको रहेको छ ।
स्थानीय अंग्रेजी पत्रिका ग्रेटर काश्मिर र राईजिङ्ग काश्मिरमा प्रकाशित समाचार अनुसार पाकिस्तान समर्थक आतंककारीहरुको क्रियाकलापबाट दुःखी र पीडित स्थानीय काश्मिरी जनता सन् ८० को दशकमा पंजाबका स्थानीय जनताले पंजाबका खालिस्तानी आतंककारीलाई घेरेर मारपीट लगायतका भौतिक कारवाही गरे जस्तै अब यहाँका जनता पनि दिउँसै उनीहरुमाथि कारवाही गर्न चाहन्छन तर सुरक्षाकर्मीहरु भने कानूनलाई आफ्नो हातमा नलिन आग्रह गरिरहेका छन् ।
विगत केही समययता भारतका विभिन्न ठाउँका आतंककारी र अपराधी प्रवृतिका व्यक्तिहरुलाई भीडले नै घेरी भौतिक कारवाही गर्दै आएका छन् । काश्मिरका आतंककारीहरु त अब आफ्नै जाती एवं समुदायका मानिसलाई पनि आफ्नो निशाना बनाउँदै आएका छन् । जम्मु काश्मिरका सर्वसाधारण जनता पनि आफ्नो गाउँ, टोल र क्षेत्रमा आतंककारीहरुको उपस्थिती हेर्न चाहिरहेका छैनन् तथा तिनको प्रतिकार गर्ने र सिध्याउने मानसिकता नै बनाएका छन् । पंजाबमा पनि स्थानीय जनताले नै चर्को विरोध गर्न थालेपछि खलिस्तान समर्थकहरु चुप लाग्न बाध्य भएका थिए । निर्दोष र सोझा मान्छेलाई बिना कारण हिंसा एवं अपराधको शिकार बनाउन थालिएपछि अब जनताले यसको प्रतिकार गर्नुको विकल्प भरसक देखेनन् । जम्मु काश्मिरमा धारा ३७० र ३५ “ए” हटाइएपछि अवस्था सामान्य भएको छ र जनजिवनमा उत्साह देखिन्छ । पर्यटकहरुको आगमन हुन थालेको छ । महिलाहरु खेलकुदमा सहभागिता देखाउन थालेका छन् ।
खेलकुदलाई बढावा दिन त्यहाँका सुरक्षाकर्मीहरुले महिलालाई उत्साही बनाउन थालेका छन । महिला सशक्तिकरणको निम्ति यसलाई पनि आवश्यक मानिन्छ । हालै जम्मु काश्मिरमा महिला क्रिकेट सुपर लिग सम्पन्न भएको छ । पन्जगाममा भएको यस टुर्नामेन्टमा (टी–१०) चारवटा टिम सहभागि थिए । प्रारम्भिक म्याच रावतपुरा राईडर र चौरीवाल चार्जर बीच भएको थियो । जसमा दुवै टिमले राम्रो प्रदर्शन गरेको थियो । अन्त्यमा रावतपुरा टिमको विजय भएको थियो ।
त्यसैगरी जम्मु काश्मिरमा देशी विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । सन् २०२२ को मध्य मार्चसम्म एघार हजार १४३ पर्यटकले जम्मु काश्मिरको अवलोकन गर्ने, जसमा ४ हजार ३९६ स्थानीय तथा ६ हजार ७ सय ५१ स्वदेशी तथा विदेशी पर्यटक थिए । हालसम्म ८९ हजारभन्दा पनि बढी पर्यटकले जम्मु काश्मिरको भ्रमण गरिसकेका छन् ।
भारत सरकारले जम्मु काश्मिरको विकासका लागि प्रत्येक सम्भव पाइला चालिरहेको छ । उत्तरी काश्मिरको बारामूलादेखि जम्मु बनिहाल सम्म १५ जोडी ट्रेनको नियमित परिचालन भइरहेको छ । १३८ किलोमिटर लामो यात्रामा विद्युतिय रेललाई सञ्चालनमा ल्याइएको छ । हालै यसको नमूना परीक्षण गरिएको छ र यो चाँडै सञ्चालनमा आउने छ । यसबाट ३० हजार यात्रु दैनिक रुपमा लाभान्वित हुने अनुमान छ ।
सन् २०१९ बाट रेल्वे विद्युतीकरणको काम थालिएको थियो तर कोभिड–१९ का कारण यो एक वर्ष पछि सञ्चालनमा आएको छ । भारत सरकारको काश्मिरदेखि कन्याकुमारीसम्म रेल सेवालाई पु¥याउने लक्ष्य अनुरुप यस कार्यलाई अघि बढाइएको हो । रेल सेवा पनि जनतालाई जनतासित जोडने एउटा सशक्त माध्यम हुने गर्दछ । सन् २००८ मा तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले श्रीनगरको नवगाम रेल्वे स्टेशनमा हरियो झण्डा देखाई त्यहाँ रेल सेवा सञ्चालन गरेका थिए । उपत्यका र उपत्यकाभन्दा बाहिरहरुको आपसी सम्पर्क र सहकार्यलाई बढावा दिन यसले विश्वास गरिएको छ । स्थानीय जनताको वर्षौ पुरानो सपना पनि साकार भएको छ ।
जम्मु काश्मिरका जनताको अनुहारमा हाँसो छाएको छ । किनभने शिक्षा, पर्यटन, स्वास्थ्य तथा यातायात लगायतका क्षेत्रमा निरन्तर रुपमा काम भइरहेका छन् र यसबाट रोजगारीको पनि अवसर उपलब्ध भइरहेको छ ।