देउवाको भारत भ्रमणले दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउने

52

यितेन्द्र शर्मा
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणको निम्ति भोली देखि दक्षिणी छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा जाँदैछन् । उनको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै परस्पर विश्वासलाई पनि बढावा दिनेछ ।
गएको नोभेम्बरमा दुवै देशका प्रधानमन्त्री बीच संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनका बेला ग्लासगोमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा आएपछि निरन्तर रुपमा नै दुवै देश बीचको सम्वादले निरन्तरता पाएको छ । गएको अक्टोबरमा नेपाली कांग्रेसका सहायक महामन्त्री प्रकाश शरण महतको नेतृत्वमा नेपाली कांग्रेसको एक प्रतिनिधि मण्डलले भारतको भ्रमण गरेको थियो । प्रतिनिधि मण्डलले भारतका विदेशमन्त्री एस जयशंकर तथा सत्ताधारी भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासित भेटघाट गरेको थियो । भेटवार्ता मूलतः दुई पक्षीय सम्बन्धलाई बलियो बनाउने उद्देश्यले नै केन्द्रित थियो ।
दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नै गएको चैत्रमा नेपाली कांग्रेसले भाजपाको विदेश मामिला विभाग प्रमुख बिजय चौैथाईवालेलाई नेपाल भ्रमणको निम्ति अगस्तमा निम्त्याएको थियो । त्यसको ठीक एक महिनापछि संयुक्त राष्ट्र संघको महासभामा पनि भारतीय विदेशमन्त्री एस. जयशंकर तथा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खडका बीच न्युयोर्कमा भेटवार्ता भएको थियो । दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा भएको यो पनि एउटा सार्थक प्रयास नै थियो । दुई देश बीचको विशेष सम्बन्धलाई प्रगाढ बनाउनुको विकल्प पनि छैन ।
यसभन्दा अघिल्लो सरकारका प्रधानमन्त्री के.पी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बढेको तथा ओली सरकारका कतिपय निर्णय पनि सोही प्रकृतिका थिए । तत्कालिन सत्ताधारी नेकपाभित्रको अन्तरकलहका कारण र उत्तरी छिमेकीको प्रभावमा परेर नेपालले त्यतिबेला नयाँ नक्सा जारी गरेको थियो भन्ने चर्चा पनि नभएको होइन । नेपालका बामपन्थी राजनीतिक दलका अधिकांश नेताहरु उत्तरी छिमेकीको प्रभावमै रहने गरेका छन् । सिमाना विवादलाई समय–समयमा चर्चामा ल्याउने काम देशका कम्युनिष्ट नेताहरुबाट नै हुँदै आएको छ ।
दुई पक्षीय सम्बन्धलाई सामान्य बनाउने प्रयास ओली सरकारको पालामा पनि भएको थियो । जतिबेला भारतीय विदेश मामिलाको खुफिया प्रमुख सामन्त गोयलको नेपाल भ्रमण भएको थियो । लगत्तै नेपालका तत्कालिन विदेशमन्त्री प्रदिप ज्ञवालीको पनि भारत भ्रमण भएको थियो । भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि सन् २०१९ को अगस्तमा नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाण्डौं आएका थिए । सन् २०२० को नोभेम्बरमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला पनि काठमाण्डौ आएका थिए ।
ओली सरकारको पालामा दुई देशबीचको सम्बन्ध खासै सुमधुर नरहेपनि भारतले नेपाललाई कोरोना महामारीका बेलापनि निर्यातलाई रोकेको थिएन र खाद्यान्न, औषधी, फलपूmल, तरकारी र इन्धनको आपुर्तिलाई सामान्य नै बनाएको थियो । सन् २०२१ को जनवरीमा भारतले कोरोना विरोधी कोभिशिल्ड खोपको सहयोग गरेको थियो ।
सन् २०१५ को अप्रिलमा आएको महाविनाशकारी भूकम्पका कारण नेपालका ९ हजार जतिले ज्यान गुमाएका थिए । जबकि २२ हजार जति घाइते भएका थिए । भारतले करिब ८२ करोड नेपाली रुपैयाको सहयोग पुर्ननिर्माण कार्यका लागि दिएको थियो । भारतले ३० करोड ६६ लाख रुपैयाको सहयोग भूकम्पका कारण क्षतिग्रस्त शैक्षिक प्रतिष्ठानको पुर्ननिर्माणको निम्ति पनि दिएको थियो ।
सत्ताधारी नेकपा भित्रको अन्तरकलहका कारण जब प्रधानमन्त्री के.पी.शर्मा ओलीले प्रतिनिधिसभालाई विघटन गरी चुनावको सिफारिस गरे अनि नेपालका ओली विरोधी राजनीतिक दलहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकारको गठन गरे । देउवा सरकारको पालामा नेपाल भारत सम्बन्ध निरन्तर रुपमा सुदृढ हुँदै गएको थियो । जतिबेला नेपालको संविधान २०७२ को निर्माण भइरहेको थियो । त्यतिबेला भारतले सबैपक्षलाई विश्वासमा लिएर व्यापक सहमतिमा संविधान बनाउन सुझाव दिएको थियो जबकि देशका बामपन्थी दलहरुले यसले हस्तक्षेपको संज्ञा दिएका थिए । जबकि देउवाले पनि संविधालाई अझ बढी लोकतान्त्रिक र सबैको स्वीकार्य बनाउन सहमतिमै संविधान जारी हुनुपर्ने धारणा राखेका थिए ।
सन् २०२१ को अन्तमा एउटा सुखद उपलब्धिसहित सम्पन्न भ्रमणपछि भारतका विदेशमन्त्री एस. जयशंकरले नुवाकोट र गोरखाका भूकम्प पीडितहरुको निम्ति ५० हजार घर तयारी भएको घोषणा नेपालद्वारा आयोजित पुर्ननिर्माण सम्बन्धि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा गरेका थिए । साथै उनले नेपालको आवश्यकता बमोजिम भारत सहयोग गर्न सधै नै तयार रहेको जानकारी गराएका थिए । भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवणेको मैत्रीपूर्ण निमन्त्रणमा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा ४ दिने भारत भ्रमणमा गएका थिए । भारतमा उनलाई भारतका राष्ट्रपति महामहिम रामनाथ कोबिन्दबाट भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदबाट विभुषित गरिएको थियो । यो हाम्रो परम्पराको निरन्तरता हो । उनको भ्रमणले पनि दुईपक्षिय सम्बन्धलाई बलियो बनाउने काम गरेको थियो । प्रधानमन्त्रीको भारत भ्रमणमा दुईपक्षिय हितका विभिन्न विषयमा चर्चा हुनुका साथै सिमापारी रेलसेवाको सञ्चालन, कुर्था–जयनगर रेल सेवाको सञ्चालन, व्यापार र जलविद्युत लगायतका विषयमा छलफल हुने सम्भावना छ । यस भ्रमणले दुईपक्षिय सम्बन्धलाई बलियो बनाउने छ ।