Home विचार पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

by अंकुश दैनिक
3 views

काठमाडौँ :

उपत्यकामा काँठ क्षेत्रको बेग्लै आकर्षण छ । ग्रामीण जीवनलाई जोगाएर सहरतिर उन्मुख हुँदै गइरहेको काँठ क्षेत्रले हाम्रो मौलिक जनजीवन, परम्परा, कला, संस्कृति एवं रीतिथिति जोगाएर राखेको छ । वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, गुम्बा आदिमा धनी यस क्षेत्रले आधुनिकतासँगै पुराना जात्रामात्रा, चाडपर्व, संस्कृति सबै जोगाएर राखेको छ । स्वच्छ हावापानी र वातावरणयुक्त यस क्षेत्रले काठमाडौँ उपत्यकाको भित्री क्षेत्र र बाहिरका मानिसलाई पनि आश्रय दिँदै आफूलाई समाहित गर्दै लगेको छ । अहिले आन्तरिक पर्यटक घुमफिर, वनभोज, हाइकिङ आदिका लागि सहर बाहिरका क्षेत्र रोज्न थालेका छन् ।

काठमाडौँ जिल्लाका काँठ क्षेत्रमा सुन्दरीजल, गागलफेदी, गोकर्ण, बालुवा, कपन, बूढानीलकण्ठ, टोखा, झोर, साङ्ला, फुटुङ, सतुङ्गल, चन्दागिरि, नागार्जुन आदि पर्छन् । यातायात, बिजुलीबत्ती, खानेपानी, टेलिफोन, इन्टरनेट, पेसा, व्यवसाय, बजारीकरण प्रक्रिया आदि माध्यमले यी सबै अहिले आधुनिकतातिर उन्मुख भइसकेका छन् ।

सञ्चारमाध्यमको विकास र आख्यानकार नारायण ढकाल, नियात्राकार जय छाङ्छा आदिका लेखनीबाट पनि यिनको प्रचारप्रसार हुन थालेको छ । किशोरावस्थादेखि नै आफ्नो गाउँ, जन्मभूमिलाई सञ्चारमाध्यमबाट चिनाउँदै आउनुभएका सञ्चारकर्मी श्रीराम फुटुङ्गेले गत वर्ष आफ्नै प्रकाशकत्वमा जन्मभूमि फुटुङका यावत् विषय समेटेर ‘फुटुङ्गः इतिहास, संस्कृति र विकास’ कृति प्रकाशन गरेर नेपाली काँठ क्षेत्रका माध्यमले हाम्रो इतिहास, संस्कृति एवं आधुनिकताको स्थितिलाई छर्लङ्ग बनाइदिनुभएको छ । काठमाडौँ उपत्यकाको उत्तर–पश्चिमतिर अवस्थित फुटुङ (शुद्ध यही नै हो) को भौगोलिक स्थिति र त्यहाँको बस्तीदेखि लिएर त्यहाँका विभिन्न जाति, जनजातिको इतिहास, परम्परागत रीतिस्थिति, संस्कृति तथा त्यहाँका जनताले संरक्षण गर्दै आइरहेको सांस्कृतिक सम्पदासम्बन्धी परिचय दिएर ऐतिहासिक अभिलेख दिएर लिपिबद्ध गर्नुभएको छ । यसमा वर्णित विषय कुनै किंवदन्तीका रूपमा आएका छन् त धेरैजसो करिब सय जना कुनै पाका व्यक्ति, संस्कृतिकर्मी आदिसँगको सोधपुछ, अन्तर्वार्ता, गहिरो र लामो कुराकानीबाट समेटिएका छन् ।

पौराणिक कथनानुसार सतीदेवीको कलेजो पतन भई कल्पेश्वर महादेव उत्पत्ति भएको जयन्तीपुर नै पछि फुटङ भएको विश्वास छ । स्थानीय धर्मस्थलीको जात्राका बेला गाडिएको लिङ्गामा बाँधिएको पत्तार (लामो कपडा) हावाले उडाएर जयन्तीपुरमा आएपछि स्थानीय नेवार जातिका मानिसले “का फुट” (लौ सकियो) भनेकाले सोही फुटबाट फुटुङ भएको एकथरी भनाइ छ भने विसं १८४९ मा भोट र नेपालको लडाइँ सकेपछि नजिकैको जितपुरसम्म आएका भोटका सैनिक फर्केकाले स्थानीय बासिन्दाले ‘का फुट’ भनी सन्तोषको सास फेरेको र सोही फुट नै बारम्बार प्रयोग गरेपछि फुटुङ रहेको किंवदन्ती छ । विसं २०२२ को नापीमा भूमिसुधार कार्यालयले सम्म परेको सो गाउँको नाम ‘फुटुङचौर’ लेखेको थाहा भएको छ । यहाँका पुराना जातिमा नेवारहरू छन् जसमा श्रेष्ठ, महर्जन, प्रधान, मास्के, प्रजापति र राजवाहक थरका बढी छन् ।

यस क्षेत्रका प्रसिद्ध जात्रामा भक्तपुरको बिस्केट जात्राकै लगभग समयमा र उस्तै प्रकारले मनाइने नारायणी जयादेवी, लाखे, रोपाइँ, गणेश, कृष्ण झुलाका साथै भजन, बाँसुरी वादन, नौमती बाजा पनि प्रचलनमा छन् । त्यस्तै कल्पेश्वर, नारायणी जयादेवी, महाँकाल, नित्यनाथ, बुद्ध चैत्य, लोकेश्वर, ऋषेश्वर, सन्तानेश्वर, आशापुरी महादेव मन्दिर, गहना पोखरी यहाँका अन्य आकर्षण हुन् । दुई सय वर्ष पुरानो इनार भने पुरिएको लेखकले जनाउनुभएको छ । यहाँ नेवारहरूको गुठी परम्परा कायमै छ भने महर्जन, नेवार, ढकाल, दलित आदिले आआफ्नै कुलको पूजा (दिवाली) गर्ने गर्छन् । सुरुमा कृषि, माटाका भाँडा निर्माण पेसामा आश्रित यहाँका जनता हाल किराना, मासु, भाँडा बिक्री, दुग्ध व्यवसाय, कुुखुरापालनमा पनि रमाएका छन् । जनजीवनको कठोर पाटा केलाउँदै इतिहासदेखि वर्तमानसम्मको विवरण चित्रण गरिएको चित्रमय यस ‘सांस्कृतिक लघु विश्वकोश’ मा फुटुङेको विगत, तिनका सङ्घर्ष र विकासका पक्षलाई मजासँग उधिनिएको छ । कृतिमा सार्वजनिकस्थलमाथिको थिचोमिचो पनि कोट्याइएको छ । लिच्छविकालीन बस्ती मानिएको गोलढुङ्गा, मनमैँजुको छिमेकी फुटङबारे जान्न बुझ्न यसमा पर्याप्त सामग्री छन् ।

छिमेकका गाउँमा के के भइसक्यो, हाम्रामा केही भएन भन्ने खालको गुनासो, आफ्नो ठाउँ नै यस्तो उस्तो भनी अर्कालाई दोष थुपार्ने प्रवृत्ति, राजनीतिक रूपले विभाजनको स्थिति आदि त्यागेर दीर्घकालीन योजना बनाएर सबैको सहभागितामा कार्यान्वयनका लागि प्रतिबद्ध भई फुटुङलाई परिवर्तन गराउने सन्देश दिन लेखकले प्रकाशन गरेको यस कृतिमा इतिहास, विभिन्न जातजाति, मठमन्दिर र आस्थाका धरोहर, सांस्कृतिक परम्परा, जीविकोपार्जन, आधुनिक विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक विकास, सामाजिक सङ्घसंस्थाको योगदान, सार्वजनिक जग्गाको स्थिति, कला, साहित्य र सर्जक आदिको साङ्गोपाङ्ग चित्रण गरिएको छ । दुई दशकअघिसम्म पनि मानिसहरूको पर्याप्त उत्पादन र आम्दानीको स्रोत नियमित नभएको तथा औँलामा गन्न सकिने व्यक्ति मात्र जागिरे भएको फुटुङ सहर नजिक भएकाले सञ्चार र यातायात सञ्जालले आधुनिकीकरण दिशातर्फ उन्मुख छ । लेखक फुटुङमा सार्वजनिक बस सञ्चालन, लवाइ–खवाइ तथा घर निर्माण तथा आवास शैलीमा आएको परिवर्तन, निर्वाहमुखी कृषिबाट व्यवसायमुखी, खानेपानीका धारा, मोटरबाटो, बिजुली र सौर्य ऊर्जा, ट्रयाक्टर, टेलिभिजनको चलन बढेसँगै पर्म र इँटाका लागि अवालको चलन हराएको, गोरेटो र कुवा बिलिन हुँदै गएको, उखु खेती र स्थानीय सख्खर उत्पादन लोप भएको, स्थानीय प्रविधिको अन्त्य भएको, चराचुरुङ्गी र स्याल जस्ता जनावर हराएकामा भने दुःख व्यक्त गर्नुहुन्छ ।

उहाँ दूध आदि बिक्री गर्न असनसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको तथा सो क्षेत्रमा छुवाछुत हटे पनि दलितप्रतिको विभेद भने अझै रहेकामा गुनासो गर्नुहुन्छ । अलपत्र परेका सार्वजनिक वा पर्ती जग्गाको संरक्षणमा लेखकले राज्यकै ध्यानाकर्षण गराउनुभएको छ । फुटुङमा रहेका करिब दुई सय रोपनी पर्ती जग्गाको संरक्षण गरी उपयोगमा ल्याउनुपर्ने उहाँको सुझाव छ । कृतिमा लेखकले फुटुङका विभिन्न अवस्था मात्र सपाट नराखेर यसको विकासका लागि गर्नुपर्ने १७ काम पनि सुझाएर काम गर्न चाहने व्यक्ति, गैरसरकारी सङ्घसंस्था, स्थानीय तह एवं सरकारलाई आँखा खोलिदिनुभएको छ । सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने तथा अन्य पूर्वाधारका काम अघि बढाउने, शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् व्यवस्थापन, स्थानीय सूचना तथा स्रोत केन्द्र, सरसफाइ तथा वातावरण, संस्कृति र सम्पदा संरक्षण, ज्येष्ठ नागरिक भलाइका कार्यक्रम, खुला स्थलका लागि ठाउँ छाड्ने आदि विभिन्न सुझाव दिनुभएको छ ।

यति हुँदा हुँदै पनि लेखकले कृतिमा काँठ वा उत्तरी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन विकासका लागि चाल्नुपर्ने कदमबारे भने उल्लेख गरेको पाइएन । ग्रामीण र सहरिया मिश्रित वातावरण पाइने र आधुनिकताले प्रवेश गरिसकेका यस्ता स्थलमा घरबास पर्यटन कार्यक्रमको थालनी गर्न सकिनेबारे स्थानीय तह र पर्यटन व्यवसायीहरूलाई आह्वान गर्न सकिन्छ । कृतिमा सामान्य वर्णविन्यासका गल्ती केही देखिन्छन् । पुस्तकलाई दैनिक, साप्ताहिक वा मासिक पत्रिका जस्तो रङ्गीबिरङ्गी बनाइएको अलि सुहाएन । यसको आवरण पृष्ठमा कोलाज जस्तो नबनाई एकै भाव आउने चित्र राख्न सकिन्थ्यो । जे होस्, कृति थप अनुसन्धान वा सन्दर्भ सामग्रीका लागि अत्यन्तै उपयोगी छ । काँठ क्षेत्रको विकासका लागि यसले स्थानीय बासिन्दालाई पनि खुराक दिन सक्ने छ ।रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.