Home समाचार सेनाको स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

सेनाको स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

by अंकुश दैनिक
3 views

बिरगंज ।

नेपाली सेना २८ नम्बर बाहिनी अड्डाको पहलमा श्री श्रीजंग गणले आयोजना गरेको शिविरबाट एक हजार भन्दा धेरै जना बिरामी लाभान्वित भएका छन् । नेपाली सेना मध्य पूर्वी पृतना हेडक्वाटरको निर्देशनअनुरुप आयोजित शिविरमा सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी गाउँपालिकासँगै बहुदरमाई नगरपालिकासमेतका बिरामीहरुले स्वास्थ्य चेकजाँच गराएका छन् ।

शिविरमा फिजिसियनदेखि आँखा, दाँत, नाक, कान, घाँटी, छाला, स्त्री तथा प्रसुती रोगहरुको चेकजाँच गरिएको थियो । बरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह, सर्जन डा. मनोज गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. लक्ष्मी थापा र डा. प्रिती यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा. आमोद श्रेष्ठ, डेन्टल सर्जन डा. विकास पटेल, छाला विशेषज्ञ डा. निलमणी प्रियदर्शनी लगायतले बिरामीको चेकजाँच गरेका थिए ।

आँखा विशेषज्ञ एवम् केडिया आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. नितिन तुल्स्यान, डा. सरिता यादव, राजदेव साह, राजेश यादव, लालबाबु मण्डल लगायतले आँखा सम्बन्धी चेकजाँच गरेका थिए ।
नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्सहरु सृष्टि बिष्ट, ओशिका भट्टराई, मनिषा पाण्डे, अस्मिता थापा, अस्मि बस्नेतले पनि शिविरमा सहभागी बिरामीहरुको नाम दर्ताका साथै मधुमेह तथा रक्तचाप परीक्षण गरेका थिए ।

ग्रामिण क्षेत्रमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका जनतालाई उपचारका लागि बाहिर जानुपर्ने प्रतिकुल अवस्थालाई मध्यनजर गर्र्दै नेपाली सेनासँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए । उनले भने, हाम्रो गाउँपालिका पूर्ण रुपमा ग्रामिण क्षेत्र हो । साथै यहाँका जनता एकदम धेरै विपन्न हुनुहुन्छ । उहाँहरु आर्थिक अभावकै कारण पनि उपचार गर्न जान सक्नुहुँदैन । त्यसैले गाउँमै शिविरको आयोजना गरेका हौँ ।’

प्राथमिक उपचारका लागि सखुवाप्रसौनी गाउँपालिका पर्सा जिल्लाकै पहिलो पालीका भएको बताउँदै उनले भने, ‘हाम्रो पालिकाका ५ वटै वडाको स्वास्थ्य चौकीबाट पनि प्रभावकारी रुपमा सेवा प्रवाह भइरहेको छ । हामी स्वास्थय र शिक्षाको क्षेत्रमा एकदम गम्भिर छौँ ।’

नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले स्थानीयको आवश्यक्तालाई मध्यनजर गर्दै बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको प्रतिक्रिया दिए । जनता र नेपाली सेनाबिचको सम्बन्धलाई सुमधुर बनाउन पनि शिविरले सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उपरथी अधिकारीले भने, ‘हामीले सुरक्षासँगै स्वास्थ्यलाई प्राथमिकता दिँदै आएका छौँ । अन्य जिल्लामा पनि यस्ता शिविर निरन्तर रुपमा गर्दै आएको हुँदा यहाँ पनि गरिएको हो ।’

नेपाली सेनासँगै सखुवाप्रसौनी गाउँपालिका, नेशनल मेडिकल एशोसिएशन, केडिया आँखा अस्पताल, प्रभु हस्पिटल, श्रीराम हस्पिटल, शान्ति क्लिनीक र नेपाल औषधी कर्मचारी संघको सयुँक्त पहलमा शिविर सम्पन्न भएको हो ।

शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, श्रीजंग गणका गणपती कर्णेल डायमण्ड कार्की, सामाजिक अभियानताहरु प्रकाश थारु, दिलिपराज कार्की, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.