Home Top News लालबाबु राउतले खरिद गरेको साइकलको भुक्तानी मुख्यमन्त्री सरोज यादवले नगर्ने

लालबाबु राउतले खरिद गरेको साइकलको भुक्तानी मुख्यमन्त्री सरोज यादवले नगर्ने

by अंकुश दैनिक
2 views

बिरगंज ।

मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दिले `बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत बाड्न खरिद गरिएको साइकल मध्ये पाँच हजार साइकल अहिले गोदाममा थन्केर बसेको छ ।

असार २०७८ मा तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो । जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन सकेका छैनन् ।

गोदाममै पाँच हजार थान साइकल कबाड बनिरहेको समाचार सार्वजनिक भएपछि वर्तमान मुख्यमन्त्री सरोज यादवले आफुले यो साइकलको भुक्तानी गर्न नसन्ने निर्णय गरेर पन्छेका छन ।

गत चैत ३० गते मुख्यमन्त्री कार्यालयको नाममा रहेको सो साइकल, तिनको सुरक्षा, उपयोग र भुक्तानिका लागि जिम्मेवार नरहेको निर्णय गरेको छ ।

मुख्यमन्त्री `बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत कक्षा–८ का छात्राहरुलाई वितरण गर्न तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले तेस्रो चरणमा आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ४४ लाख १० हजार रुपैयाँमा १० हजार साइकल किनेको थियो । काठमाडौंको पुतलीसडकस्थित स्यान्यो इन्टरनेशनल प्रा.लि.मार्फत किनिएकामध्ये आधा साइकल करिब दुई वर्षदेखि जनकपुरमा रहेको मधेश भवनको गोदाममा थन्किएका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा मधेश सरकारले १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ साउन २०७८ मा ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार आरोपितमा मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसाल, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र आपूर्ति कम्पनी ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवाल थिए ।

त्यो प्रकरणमा अख्तियारले बोलपत्र मूल्यांकन समितिमा रहेका मन्त्रिपरिषद् कार्यालयका तत्कालीन उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल र इन्जिनियर भगवान झा विरुद्ध पनि मुद्दा दायर गरेको थियो । मुद्दा परेपछि करिब पाँच हजार साइकल वितरण अन्योलमा पर्नुका साथै भुक्तानी प्रकृया पनि रोकिएको छ ।

साइकल आपूर्तिकर्ता स्यान्यो इन्टरनेशनलका सेयरधनी कुन्दनकुमार सिंहले मुख्यमन्त्री कार्यालयले २०७८ असारमा २ करोड ९३ लाख भुक्तानी दिएको र ५ करोड ६८ लाख अझै बाँकी रहेको बताउनुभएको छ । सम्झौता अनुसारको भुक्तानीका लागि गत कात्तिकमा उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकोमा मंसिर १२ गते कम्पनीको पक्षमा आदेश आएको तर अझै भुक्तानी नपाएको उहाँले बताउनुभयो । दुई वर्षदेखि भुक्तानी नहुँदा कम्पनीको बैंक खाता कालोसूचीमा राखेको र सम्पत्ति लिलामीमा राखेको शेयरधनी सिंह बताउनुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.