Home Top News आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

by Ankushdaily
10 views

काठमाडौँ ।

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्री आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.