Home समाचार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

by Ankushdaily
17 views

बिरगंज ।

चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य(अर्घ) दिँदै सम्पन्न भएको छ ।पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् । 
सम्पूर्ण ऊर्जाको श्रोत मानिने सूर्य उपासनाको चैती छठ पर्व आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैत्र शुक्ल षष्ठी तिथिका दिन श्रद्धा पूर्वक मनाउने गरिन्छ।
नजिकको नदी, तालाव र जलाशयमा उभिएर व्रतालु महिलाहरूले यो पर्व मनाउन शुद्धता र पवित्रतालाई विशेष ख्याल राखी कठोर व्रत बस्ने गर्छन्। जीवनको मुख्य आधार जल, वायु, अग्नि अर्थात् सूर्य जसले प्रकृति निर्माण देखि अन्न बाली उत्पादनमा प्रमुख भूमिका खेलेको जनकारहरू बताउँछ।
वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन)गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) को अब (आज) सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।
आजको सूर्योदय बिहान ५ बजेर ५१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै  कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।
गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।
व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय-खाय’  विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी  छठमा  व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अर्घ्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ । 
कार्तिक शुक्ल षष्ठी र चैत्र शुक्ल षष्ठीका दिन तराई-मधेसमा मनाइने लोक आस्था एवं धार्मिक विश्वासको महान् छठ पर्व मनाउँदै आएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.