Home » Blog » नारायणी अस्पतालका चिकित्सकको आन्दोलन : स्तरोन्नतिको लागि दबाब

नारायणी अस्पतालका चिकित्सकको आन्दोलन : स्तरोन्नतिको लागि दबाब

Ankushdaily
0 comment 28 views
वीरगञ्ज ।
नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको स्तरोन्नति तथा नयाँ भवन निर्माणको माग गर्दै सडकमा धर्ना बसेका छन् । शुक्रबार बिहान ११ बजे त्रिभुवन राजपथअन्तर्गत नारायणी अस्पताल अगाडि धर्ना दिँदै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
भवन अभावमा स्वास्थ्य सेवा प्रभावित
नेपाल सरकारले आर्थिक वर्ष २०७४/७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० शैय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेअनुसार नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोड रुपैयाँको लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो। तर, बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माण अदालतमा न्यायिक निरुपणको चरणमा पुगेको छ।
चिकित्सकको चेतावनी : माग पूरा नभए थप संघर्ष
अस्पताल भवन निर्माणमा देखिएको ढिलाइका कारण नारायणी अस्पताल संघर्ष समिति गठन गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। समितिका संयोजक तथा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह का अनुसार जीर्ण भवनका कारण बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरू सधैं असुरक्षित महसुस गर्न बाध्य छन्।
उनले भने, राज्यले हामीलाई हेर्‍यो, अस्पताललाई। नारायणी अस्पतालको भवन यति जीर्ण कि उपचार गरिरहेका बेला कुनसमयमा भवन खस्छ भन्ने ग्यारेन्टी छैन। डरैडरमा सेवा दिनुपरेको छ।
उनका अनुसार स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमै धर्ना दिन बाध्य हुनु परेको छ। आन्दोलनकै क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सरकार खण्डहर होइन, भवन देउ, अन्यायबाट मुक्ति देउ, न्यायको गाँठो फुकाएर राहत देउ, जस्टिस डिलेडइज जस्टिस डिनाइड जस्ता नारासमेत लगाएका थिए।
नारायणी अस्पतालको महत्त्व र समस्या
मधेस प्रदेशका लागि संघीय सरकारले घोषणा गरेको एक मात्र केन्द्रीय अस्पतालका रूपमा रहेको नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही तथा छिमेकी भारतका समेत गरी करिब ३० लाख जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। तर, भवन जीर्ण हुँदै जाँदा उपचार सेवा प्रभावित भइरहेको छ।
संघीय सरकारले अन्य प्रदेशहरूमा नयाँ अस्पताल भवन बनाइसकेको भए पनि नारायणी अस्पतालका लागि आवश्यक ध्यान नदिएको भन्दै चिकित्सकहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन्। अस्पतालको भवनसम्बन्धी मुद्दा माघ २८ गते अदालतमा पेसीमा चढ्ने भएकाले सो दिनसम्म सरकारको निर्णय कुर्ने संघर्ष समितिले जनाएको छ।
संघर्ष समितिको आगामी रणनीति
संघर्ष समितिका संयोजक डा. सिंह ले सरकारको ध्यानाकर्षण गराउनकै लागि पहिलो चरणमा शान्तिपूर्ण धर्ना दिइएको बताए। उनले भने, सरकारले अझै बेवास्ता गर्‍यो भने सशक्त आन्दोलनका कार्यक्रम ल्याउनेछौँ।
चिकित्सकहरूको आन्दोलनले नारायणी अस्पताल भवन टेन्डरबारे अदालतमा विचाराधीन मुद्दा छिटो निष्कर्षमा पुर्‍याउन न्याय सम्पादन गर्ने निकायलाई दबाब सिर्जना गर्ने विश्वास लिइएको छ। “ढिलो न्याय पनि अन्याय हो” भन्ने मान्यताका आधारमा चिकित्सकहरूले अबको संघर्षलाई अझ व्यापक बनाउने बताएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.