Home » Blog » भूमिहीन दलित र सुकुम्बासी समस्या समाधानमा अध्यक्ष अहमदको प्रतिबद्धता

भूमिहीन दलित र सुकुम्बासी समस्या समाधानमा अध्यक्ष अहमदको प्रतिबद्धता

Ankushdaily
0 comment 55 views
वीरगञ्ज ।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनका विषयमा पर्साका दलित अगुवा तथा अधिकारकर्मीहरूसँग विशेष अन्तरक्रिया सम्पन्न भएको छ। भूमि समस्या समाधान आयोग, पर्साले वास्तविक समस्या पहिचान गर्दै समाधानका उपाय खोज्ने उद्देश्यले यो अन्तरक्रिया आयोजना गरेको हो।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय, पर्साको सभाकक्षमा सम्पन्न भएको थियो। उक्त अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भूमिहीन दलित तथा सुकुम्बासीलाई निष्पक्ष रूपमा जग्गा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “भूमिसम्बन्धी समस्या गरिब, दलित र श्रमिक समुदायको मुख्य समस्या हो। त्यसैले यसको समाधान निष्पक्ष, पारदर्शी र दबाबमुक्त रूपमा हुनेछ।” साथै, उनले आयोगलाई १९ औं पटक पुनर्गठन गर्नुपर्ने परिस्थिति आउन नदिन आग्रह गरे।
अध्यक्ष अहमदको प्रतिबद्धता
भूमि समस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमदले आफ्नो कार्यकालमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा समस्या जस्ताको तस्तै रहनु दुखद भएको उल्लेख गर्दै भने, “अब मेरो नेतृत्वमा आयोगले तीव्र गतिमा काम गरिरहेको छ। जसको समस्या हो, समाधानको पहल पनि उसैले गर्नुपर्छ।”
उनले दलित अगुवा तथा अधिकारकर्मीहरूसँग समन्वय गर्दै आयोगको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे। साथै, आयोगले पर्सामा गरेको प्रगतिलाई समेटेर स्मारिका प्रकाशन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।
पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले आयोगको प्रक्रिया झन्झटिलो भएकाले सहज बनाउनुपर्ने सुझाव दिए। साथै, लक्षित समुदायको लगत संकलन गर्दा छुटेका व्यक्तिहरूलाई समेट्न माग गरे।
नापी कार्यालय, पर्साका प्रमुख राकेश झाले आयोगले निर्धारण गरेका जग्गा वितरणका मापदण्डबारे स्पष्ट पार्दै भने, “जग्गा उनीहरूलाई मात्र दिइनेछ, जसको नाममा एक इन्च पनि जग्गा छैन र आयआर्जनबाट जग्गा खरिद गर्न असमर्थ छन्। अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई भने व्यवस्थित गर्नेछौँ, तर त्यसका लागि निश्चित राजस्व तिर्नुपर्नेछ।” साथै, गलत विवरण पेश गर्नेहरूलाई दण्ड तथा जरिवानाको व्यवस्था गरिने उनले प्रस्ट पारे।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, पत्रकार बृजलाल पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित महिला संघकी निला राम, लबकुश बैठा, बुनेल राम, शिवनारायण राम लगायतको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण नापी कार्यालयका अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.