Home » Blog » मधेश सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन

मधेश सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन

Ankushdaily
0 comment 23 views
जनकपुरधाम ।
मधेश प्रदेश सरकारको असफलता, भ्रष्टाचार र अकर्मण्यताको विरोधमा राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको अगुवाइमा बिहीबार जनकपुरमा मसाल जुलुस प्रदर्शन गरिएको छ।
भानु चौकबाट सुरु भएको जुलुसले जनकपुरका मुख्य सडक परिक्रमा गर्दै जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो। राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्वे, अक्षय यादव, पंकज झालगायतका अगुवाहरूको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारको गैरजिम्मेवारीपूर्ण रवैयाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै चर्का नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले “बजेट खा गेलहु, विकास कतय?”, “भ्रष्टाचार करै सरकार, मधेशी जनता करै ललकार!”, “शासन नै, सुशासन चाही – मधेशी जनता के सम्मान चाही!” जस्ता नारा लगाउँदै प्रदेश सरकारको उदासीनताविरुद्ध आक्रोश पोखे। उनीहरूले मधेश प्रदेशमा भइरहेका भ्रष्टाचार, बजेट दुरुपयोग, ढिलासुस्ती, रोजगारी अभाव, स्वास्थ्य र शिक्षाको कमजोरीलाई प्रमुख मुद्दाका रूपमा उठाएका थिए।
राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिले प्रदर्शनका क्रममा सार्वजनिक गरेको पर्चामा प्रदेश सरकार पटक–पटक असफल हुँदै आएको आरोप लगाइएको छ। अरबौंको बजेट पाउने भए पनि विकासको गति अत्यन्त सुस्त रहेको भन्दै यस आर्थिक वर्षमा झन् निराशाजनक अवस्था देखिएको उल्लेख गरिएको छ।
पर्चामा उल्लेख भएअनुसार हालसम्म मधेश प्रदेश सरकारले जम्मा ५.६१% मात्र बजेट खर्च गरेको छ, जुन अघिल्लो सरकारभन्दा पनि कमजोर रहेको दाबी गरिएको छ। सन् २०७४-७५ मा उपेन्द्र यादव नेतृत्वको सरकारले ५२% बजेट खर्च गर्न सकेको भए पनि पछिल्ला सरकारहरू अझै कमजोर बन्दै गएका छन्।
प्रदर्शनकारीहरूले सरकारले बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण भ्रष्टाचार, अयोग्य नेतृत्व र गैरजिम्मेवार सरकार रहेको आरोप लगाएका छन्।
प्रदर्शनमा सहभागीहरूले मधेशका सडक, अस्पताल, विद्यालय तथा रोजगारीको दयनीय अवस्थाबारे आवाज उठाए। उनीहरूको भनाइमा सरकारका मन्त्रीहरू विलासितामा रमाइरहेका छन्, तर जनता आधारभूत सुविधाबाट वञ्चित छन्।
“सरकारी गाडीमा लाखौं खर्च गर्ने, विदेश भ्रमण गर्ने, महँगा ठेक्कापट्टा बाँड्ने सरकारका अधिकारीहरू जनताको पीडा बुझ्न नै चाहँदैनन्। जनता गरिब हुँदैछन्, नेताहरू करोडपति बन्दैछन्!” – एक प्रदर्शनकारीले आक्रोश पोखे।
नेताहरूले मधेशी पहिचानको राजनीति गरे पनि वास्तविक विकासका मुद्दाहरू ओझेलमा पार्ने गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले अब चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
राष्ट्रिय एकता अभियानका नेताहरूले अब मौन बस्ने समय सकिएको बताउँदै जनतालाई सरकारसँग सोधपुछ गर्न आह्वान गरे।
“अब प्रत्येक रुपैयाँको हिसाब दिनुपर्छ। भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुपर्छ। युवाहरूलाई रोजगारी दिनुपर्छ। विकास योजनाहरूलाई व्यवहारिक रूपमा अघि बढाउनुपर्छ।” – अभियानका नेताहरूले चेतावनी दिए।
शान्तिपूर्ण रूपमा सम्पन्न भएको मसाल जुलुसले मधेश प्रदेश सरकारमाथि चर्को दबाब सिर्जना गरेको छ। “अब मधेश बचाउनुपर्छ, सुशासन ल्याउनुपर्छ!” भन्ने मूल नारासहित प्रदर्शनकारीहरूले सरकारलाई अन्तिम चेतावनी दिएका छन् कि यदि सरकारले जनताको माग सम्बोधन नगरेमा आन्दोलन अझै कडा बनाइनेछ

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.