Home » Blog » वीरगञ्जमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले गर्यो पाँच बुँदे सहमति

वीरगञ्जमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले गर्यो पाँच बुँदे सहमति

Ankushdaily
0 comment 86 views
वीरगंज ।
वीरगंजमा यही मिति २०८१ साल चैत ३० गते, शनिबार हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा भएको घटनापछि, आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले विभिन्न राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक संघसंस्था तथा नागरिक प्रतिनिधिहरूको सहभागितामा पाँच बुँदे सहमति सार्वजनिक गरेको छ।
बैठकले उत्पन्न परिस्थितिको समाधान, धार्मिक सहिष्णुता कायम राख्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाँच बुँदे सहमति सार्वजनिक गरेको हो। बैठकपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सहमतिको जानकारी दिँदै सबै पक्ष संयमता र सहकार्यसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।
बैठकबाट भएको सहमति अनुसार, घटनामा संलग्न दोषीहरूलाई विस्तृत छानबिन र अनुसन्धान गरी कानूनी कारबाही अघि बढाइनेछ। साथै, धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण रूपमा प्रतिवद्ध रहँदै कानूनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ भने घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्नेछ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हातहतियारको कुनै पनि प्रकारको प्रदर्शन नगर्न गराउन विशेष ध्यान पुर्‍याइनेछ, र यदि उल्लङ्घन भएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। त्यस्तै, पर्सा जिल्लाभर सञ्चालित सम्पूर्ण धार्मिक संस्था तथा ती संस्थाबाट सञ्चालित विद्यालय, मदरसा लगायतका शिक्षण संस्थाहरूको सूक्ष्म अनुगमन गरिनेछ र अन्यथा गतिविधि देखिएमा कानूनी दायरामा ल्याइनेछ।
प्रशासनले सबै समुदाय र नागरिकहरूलाई संयमता, जिम्मेवारी र ऐक्यबद्धताका साथ सहकार्य गर्न अनुरोध गर्दै शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न आह्वान गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.