Home » Blog » अवकाशप्राप्त १५ प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई

अवकाशप्राप्त १५ प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई

Ankushdaily
0 comment 16 views
वीरगंज ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, ठाकुर राम बहुमुखी क्याम्पस, एकाई समिति वीरगंजले त्रिभुवन विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका १४ जना प्राध्यापक तथा एक जना शिक्षण सहायकको सम्मानमा शुक्रबार एक भव्य विदाई समारोह आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि दाता परिवारका संजय कुमारले शिक्षकरूपी दीप प्रज्वलन कहिल्यै निभ्दैन भन्दै, “शिक्षकले टाँसेको ज्ञानको सम्झना र प्रभाव पुस्तौँसम्म बाँचिरहन्छ,” भन्ने मन्तव्यसहित दीर्घ सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। विशिष्ट अतिथि शशी रंजनले संस्थाको शैक्षिक यात्रा आजको अवस्थामा पुग्नुमा अनुभवी प्राध्यापकहरूको समर्पण मुख्य आधार रहेको उल्लेख गर्दै “तपाईंहरूले कोरेको बाटो नै हामीले पछ्याउनुपर्ने दिशानिर्देश हो,” भन्नुभयो।
संघका एकाई सभापति सह-प्राध्यापक डा. प्रमोद कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा सह-प्रा. रजनी कान्त मिश्र, उप–प्रा. शत्रुधन यादव, सह-प्रा. अमर कुमार मिश्र, सह-प्रा. गौतम रंजन, उप–प्रा. कुर्बान हवारी, सह–प्रा. पंकज कुमार, सह–प्रा. शंकरमान श्रेष्ठ, सह–प्रा. डा. उमेश प्रसाद श्रीवास्तव, सह–प्रा. अनिल कुमार रमण, सह–प्रा. डा. बैधनाथ प्रसाद यादव, सह–प्रा. राय यतिन्द्र प्रसाद तथा शिक्षण सहायक ओम द्विवेदीलाई त्रि.वि. सेवाबाट अनिवार्य अवकाश प्राप्त भएको अवसरमा एकाई समितिले सम्मानपूर्वक विदाई गरेको हो।
कार्यक्रममा क्याम्पस प्रमुख मोहन प्रसाद यादवले अवकाश प्राप्त प्राध्यापकहरूको समर्पण, अनुशासन र शैक्षिक मार्गदर्शनले क्याम्पसलाई मजबुत बनाएको उल्लेख गर्दै, “तपाईंहरूको योगदान संस्थाका प्रत्येक ईँटामा अंकित छ,” भन्दै शुभकामना व्यक्त गर्नुभयो।
स्वागत मन्तव्य संघका एकाई सदस्य लक्ष्मी कर्णले प्रस्तुत गर्नुभएको कार्यक्रममा क्याम्पसका पूर्व प्रमुखहरू, वर्तमान उपप्रमुखहरू, विभागीय प्रमुखहरू तथा प्राध्यापक–विद्वत वर्गका प्रतिनिधिहरूले पनि क्रमशः वक्तव्य दिँदै अवकाश प्राप्त शिक्षकहरूले देखाएको कार्यशैली, मानवीयता र नेतृत्व क्षमताको उच्च प्रशंसा गरेका थिए।
कार्यक्रमको सञ्चालन संघका एकाई समिति सचिव पन्त कुमार साहले गर्नुभएको थियो। भावनात्मक वातावरणमा सम्पन्न समारोहमा उपस्थित वक्ताहरूले अवकाशलाई अन्त्य नभई नयाँ अध्यायको सुरुवातको रूपमा व्याख्या गर्दै सम्मानित प्राध्यापकहरूको आगामी जीवनयात्रामा सफलताको कामना व्यक्त गरेका थिए। कार्यक्रममा सहभागीहरूले क्याम्पस परिसरमा रहेका दाता ठाकुर राम, एवं रघुवीर रामको सालिकमा माल्यार्पण गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.