Home » Blog » सामाजिक सञ्जालबाट धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउनेलाई कारबाही गर्ने पर्सा प्रशासनको चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउनेलाई कारबाही गर्ने पर्सा प्रशासनको चेतावनी

Ankushdaily
0 comment 14 views
वीरगञ्ज ।
जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि नगर्न सर्वसाधारणमा गम्भीर अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको सार्वजनिक सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र घृणा उत्पन्न गर्ने कार्यहरू नगर्न सचेत गराइएको छ।
प्रशासनले जारी गरेको सूचनामा उल्लेख भए अनुसार, पछिल्लो समय सामाजिक सञ्जालमा एक अर्काको धर्म, संस्कृति र सम्प्रदायप्रति द्वेष भाव सिर्जना गर्ने, राष्ट्रिय एकतामा आँच पुर्‍याउने तथा झुटा अफवाह फैलाएर कुनै समुदायको मानमर्दन गर्ने जस्ता गतिविधिहरूमा केही व्यक्तिहरू संलग्न रहेको पाइएको छ। प्रशासनले यस्ता गतिविधिहरूलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको जनाउँदै, कानुन विपरीतका कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने चेतावनी दिएको छ।
कारबाहीको सन्दर्भमा प्रशासनले मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ का प्रावधानहरू स्पष्ट पारेको छ। मुलुकी अपराध संहिताको दफा १५५ अनुसार कसैले धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्‍याएमा वा फोहोर मैला गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यस्तै, दफा १५६ अनुसार लेखेर, बोलेर वा कुनै चिह्नद्वारा धार्मिक भावनामा आघात पुर्‍याएमा २ वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
यसैगरी, विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कम्प्युटर र इन्टरनेटको माध्यमबाट सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री प्रकाशन गर्ने, घृणा वा द्वेष फैलाउने, वा कुनै व्यक्तिलाई जिस्क्याउने र हैरानी गर्ने कार्य गरेमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कुरा प्रशासनले स्मरण गराएको छ। जिल्ला प्रशासन कार्यालयले समाजमा शान्ति र अमनचयन कायम राख्न सबैलाई जिम्मेवार बन्न आग्रह समेत गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.