Home » Blog » हरिखेतानभित्रको अन्तर्निहित कथा

हरिखेतानभित्रको अन्तर्निहित कथा

Ankushdaily
0 comment 144 views
अंकुश संवाददाता,
वीरगञ्ज ।
विद्यालय शिक्षाको मन्दिर हो जब विद्यालयमा राजनीति पस्छ यस्तै प्रकारको विकृति र खराब प्रवृत्ति हाबी हुन्छ। वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा देखिएको वर्तमान विवाद र अस्थिरता पनि यही प्रवृत्तिको उपज भएको देखिन्छ। क्याम्पसबाट हट्नु परेका तत्कालीन क्याम्पस प्रमुख भगवान यादवले आफ्नो बहिर्गमनपछि पनि क्याम्पसको शैक्षिक वातावरण धमिल्याउन विनोद यादव, दिलिप पण्डित, लाल किशोर पटेल र रविन्द्र यादव जस्ता पात्रहरूलाई प्रयोग गरेर विवाद सिर्जना गरिरहेको आरोप सञ्चालक समितिका सदस्य जयप्रकाश खेतानले लगाउनु भएको छ। बाहिर हेर्दा विधान परिवर्तन र नियुक्तिको विवाद देखिए पनि यसको भित्री चुरो भने २०८० सालदेखि नै सुरु भएको आर्थिक र प्रशासनिक दाउपेचसँग जोडिएको उनी बताउँछन्।
खेतानले दिएको जानकारी अनुसार यो विवादको विजारोपण २०८० सालमा भएको थियो, जतिबेला जोखान शाह दास थारुको अध्यक्षतामा तत्कालीन क्याम्पस प्रमुख भगवान यादवको ‘ग्रान्ड डिजाइन’ मा कथित गैरकानुनी र फर्जी सञ्चालक समिति खडा गरिएको थियो। सोही समितिको आडमा भगवान यादव र क्याम्पसका शिक्षक विनोद यादवको मिलेमतोमा ठूलो रकम हिनामिना भएको आशंकासहित विवाद उत्पन्न भएको थियो। आधिकारिक सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश खेतानले २०६९ सालको निर्णय विपरीत भगवान यादवले अनधिकृत व्यक्तिसँग मिलेर संयुक्त हस्ताक्षरद्वारा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र नेपाल बैंक लिमिटेडका खाताहरू सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएपछि प्रशासनले खाता रोक्का गरेको थियो। पछि त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयबाट प्राप्त आधिकारिक विधान र पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले २०८० फागुन १ गते खाता फुकुवा गर्दै आधिकारिक समितिलाई मात्र आर्थिक कारोबारको अनुमति दिएको थियो, जसले भगवान यादव पक्षको दाबीलाई कमजोर साबित गरेको थियो।
अहिले सतहमा देखिएको विवादमा भने हरि खेतान प्राध्यापक संघ र कर्मचारी युनियनले क्याम्पसलाई निजीकरण गर्न खोजिएको र विधि मिचेर कर्मचारी नियुक्ति गरिएको भन्दै आन्दोलन गरिरहेका छन्। विशेषगरी कक्षा ९ देखि १२ सम्मको प्रिन्सिपल (प्रधानाध्यापक) पदमा अञ्जली श्रेष्ठ र अर्को पदमा सुस्मिता यादवको नियुक्तिलाई लिएर असन्तुष्टि चुलिएको छ। आन्दोलनकारी पक्षले क्याम्पसका पुराना शिक्षकलाई अवकाश दिएर बाहिरका व्यक्ति ल्याएको भन्दै विरोध गरिरहँदा यस प्रकरणमा अदालती आदेशले भने अर्कै तथ्य उजागर गरेको छ। हरि खेतान माध्यमिक विद्यालय (कक्षा ९-१२) र हरि खेतान बहुमुखी क्याम्पस व्यवस्थापकीय रूपमा फरक अस्तित्व र प्रकृतिका संस्था हुन् भन्ने कुरालाई आन्दोलनकारीले नजरअन्दाज गरेको खेतान बताउँछन्।
अञ्जली श्रेष्ठको नियुक्तिको विषयमा अदालतले स्पष्ट फैसला गर्दै हरि खेतान माध्यमिक विद्यालय एक ‘संस्थागत विद्यालय’ भएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा वीरगञ्ज महानगरपालिकाको शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिले छुट्टै प्रक्रियाबाट प्रधानाध्यापक नियुक्ति गर्न सक्ने ठहर गरेको छ। अदालतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रकाश खेतानले गरेको नियुक्ति कानुनसम्मत रहेको र पठनपाठनमा अवरोध नगर्न परमादेश जारी गरिसकेको छ।
यसले के पुष्टि गर्छ भने क्याम्पसको विधान र माध्यमिक विद्यालयको सञ्चालन प्रक्रिया फरक–फरक पाटा हुन्। तर, भगवान यादव पक्षधर भनिएका समूहले विद्यालय र क्याम्पसको विषयलाई एकै ठाउँमा जोडेर, कानुनी फैसलाको अपव्याख्या गर्दै र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै शैक्षिक संस्थालाई राजनीतिको अखडा बनाउन खोजिरहेको देखिन्छ। हरिखेतानलाई जोगाउन नागरिक समाजका अगुवाहरु र स्थानीय सरकारका जिम्मेवार पदाधिकारी गण र स्थानिय प्रहरी प्रशासनले हस्क्षेप गर्नुपर्ने अवस्था महसुस गर्न थालिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.