Home » Blog » पोखरिया प्रादेशिक अस्पतालको उद्घाटन

पोखरिया प्रादेशिक अस्पतालको उद्घाटन

Ankushdaily
0 comment 21 views
राम विश्वास चौधरी,
पोखरिया ।
पर्साको दोस्रो सदरमुकाम मानिने पोखरियामा ‘प्रादेशिक अस्पताल पोखरिया’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्री जंगीलाल यादवले संयुक्त रूपमा शिलालेख अनावरण गरी अस्पतालको समुद्घाटन गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पोखरिया अस्पतालको विकास र सुदृढीकरणका लागि प्रदेश सरकार पूर्ण रूपमा तत्पर रहेको बताउनुभयो। उहाँले मन्त्रालय र विभिन्न निकायमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट तथा चिकित्सकहरूलाई आवश्यकता अनुसार प्रादेशिक अस्पतालहरूमा सरुवा गरिसकिएको जानकारी दिँदै, निर्देशन पालना नगर्ने स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्न सचिवलाई निर्देशन दिइएको स्पष्ट पार्नुभयो। वीरगन्ज आसपासका नागरिकले सहजै स्वास्थ्य सेवा पाए पनि पश्चिम पर्साका जनताले महँगो र टाढाको सेवा लिनुपर्ने बाध्यतालाई अन्त्य गर्न पोखरिया अस्पताललाई दक्ष जनशक्ति, आधुनिक उपकरण र भौतिक पूर्वाधारले सम्पन्न बनाइने उहाँको प्रतिबद्धता थियो।
मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले निर्णय गरेका चारवटा प्रादेशिक अस्पतालमध्ये पोखरिया पनि एक रहेको उल्लेख गर्दै यस क्षेत्रको समग्र विकासका लागि टाउन हल र स्टेडियम निर्माणका योजनाहरूलाई बहुवर्षीय योजनामा समावेश गरी निरन्तरता दिने उद्घोष गर्नुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्री जंगीलाल यादवले पोखरिया अस्पताललाई आधुनिक प्राविधिक मोडलमा रूपान्तरण गरी निजी अस्पताल सरहकै सस्तो र सुलभ सेवा उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व केन्द्रिय मन्त्री सुरेन्द्र प्रसाद चौधरी, कृषि मन्त्री श्याम प्रसाद पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, प्रदेश सांसद जनार्धन क्षेत्री, पूर्व मन्त्री प्रमोद जयसवाल लगायतका जनप्रतिनिधि र स्थानीय नेताहरूले पोखरियाको स्वास्थ्य र विकासका चुनौतीबारे चर्चा गर्दै अस्पतालको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य सह-संयोजक शिव पटेलले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.