Home » Blog » नेपाल जनता पार्टीद्वारा हिन्दू पत्रकार संघका लागि भवन निर्माण र तीनवटा पुरस्कारको प्रतिबद्धता

नेपाल जनता पार्टीद्वारा हिन्दू पत्रकार संघका लागि भवन निर्माण र तीनवटा पुरस्कारको प्रतिबद्धता

Ankushdaily
0 comment 12 views
वीरगन्ज ।
नेपाल जनता पार्टीले पत्रकारिताको माध्यमबाट हिन्दूत्व र समाजको सेवामा सक्रिय सञ्चारकर्मीहरूको वृत्तिविकासका लागि महत्त्वपूर्ण सहयोगको घोषणा गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा आयोजित एक विशेष समारोहका बीच पार्टीले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने र वार्षिक रूपमा तीनवटा नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको हो।
पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराजले संघको भवन निर्माणका लागि १० धुर जग्गासहित एकतल्ले भवन निर्माण गरिदिने उद्घोष गर्नुभयो। यसका साथै आगामी वर्षदेखि लागू हुने गरी कुल ६५ हजार रुपैयाँ राशिको तीनवटा पुरस्कार घोषणा गरिएको छ। जसमा २५–२५ हजार रुपैयाँ राशिको ‘काशीनाथ तिवारी पुरस्कार’ र ‘अनिल पटेल पुरस्कार’ तथा १५ हजार रुपैयाँको ‘युवा क्रियाशील पत्रकारिता पुरस्कार’ रहेका छन्।
पुरस्कार छनोटको पूर्ण अधिकार हिन्दू पत्रकार संघलाई नै सुम्पिँदै वरिष्ठ नेता महाराजले आगामी वर्षदेखि संघमा आबद्ध सदस्यहरूको बीमाको व्यवस्थापन समेत पार्टीले गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले पार्टीको यो उदारतालाई संघको इतिहासमै ‘ऐतिहासिक’ भन्दै आभार प्रकट गर्नुभयो। उहाँले आगामी निर्वाचनमा हिन्दूवादी शक्तिहरू व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिनुभयो। “हिन्दूवादी शक्तिहरू एक भएर निर्वाचनमा होमिए मात्र सदनमा धर्म र संस्कृतिको पक्षमा बोल्ने प्रतिनिधिहरूको संख्या बढ्नेछ,” अध्यक्ष रौनियारले भन्नुभयो, “यसका लागि हाम्रो संस्थाले विभिन्न दलहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ।”
नेपाल जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सञ्चार क्षेत्र र धर्म-संस्कृतिको उत्थानका लागि राजनीतिक दल र पत्रकार संघबीचको यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.