Home » Blog » महालक्ष्मी बचत तथा ऋण सहकारीद्वारा ३८ लाख संरक्षित पूँजी फिर्ता वितरण

महालक्ष्मी बचत तथा ऋण सहकारीद्वारा ३८ लाख संरक्षित पूँजी फिर्ता वितरण

Ankushdaily
0 comments 16 views
वीरगञ्ज।
वीरगञ्जस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सदस्यहरूलाई संरक्षित पूँजी फिर्ता कोषमार्फत ३८ लाख रुपैयाँ वितरण गरेको छ। संस्थाले मुनाफाको २५ प्रतिशत बराबरको रकम बचतकर्ता तथा ऋणी सदस्यहरूलाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरेको जनाएको छ।
संस्थाले प्रविधिमैत्री सेवा विस्तार गर्दै सदस्यहरूलाई निःशुल्क मोबाइल बैंकिङ सुविधा समेत उपलब्ध गराउँदै आएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न शीर्षकमा सहयोग तथा योगदान पनि गरेको जनाएको छ। सहकारीले सरकारलाई ६० लाख रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ। साथै, भिस्वा बौद्ध विहारको अतिथि सदन सौन्दर्यकरणका लागि ६ लाख ४२ हजार रुपैयाँ सहयोग, वीरगञ्ज महानगरपालिकालाई २ लाख रुपैयाँ बराबरका ४३ थान कुर्सी हस्तान्तरण तथा मानव सेवा आश्रमलाई १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिइएको छ।
संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको अध्यक्षतामा सम्पन्न उक्त सदस्य सम्मान तथा कोष वितरण कार्यक्रममा मधेश प्रदेश बचत तथा ऋण सहकारी संघका प्रस्तावित अध्यक्ष राजेश पण्डित, संस्थाका कोषाध्यक्ष प्राध्यापक सत्येन्द्र कुमार सिंह, सञ्चालक अधिवक्ता बालमुकुन्द खरेल, सदस्य मोहन रन्जन प्रसाद प्रधान, लेखा समिति संयोजक प्रद्युमन प्रसाद सेढाई, सदस्य ई. प्रकाशमान सिंह अमात्य र सदस्य भरत साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन गर्दै संस्थाका प्रबन्धक जितेन्द्र वर्माले सहकारीलाई नीति र प्रविधिको फ्युजनबाट सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पारदर्शी ढंगले अघि बढ्दा मात्र सहकारी क्षेत्रले देशको समग्र विकासमा सर्वोत्कृष्ट योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू