Home » Blog » होटल सञ्चालनमा आएसँगै स्काइलाइन इन्फ्राको व्यापारमा ७ गुणाको छलाङ, एक वर्षमै साढे ८ करोडको कारोबार

होटल सञ्चालनमा आएसँगै स्काइलाइन इन्फ्राको व्यापारमा ७ गुणाको छलाङ, एक वर्षमै साढे ८ करोडको कारोबार

Ankushdaily
0 comment 160 views
वीरगञ्ज।
वीरगञ्जमा ‘स्काइलाइन मल’ र ‘सरोवर पोर्टिको’ होटल सञ्चालन गरिरहेको स्काइलाइन इन्फ्रा लिमिटेडको वित्तीय अवस्थामा उत्साहजनक सुधार देखिएको छ। होटल व्यवसाय पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै कम्पनीको आम्दानी एक वर्षको अन्तरालमा ७ गुणाले वृद्धि भएको बताइएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार, सन् २०२४ मा १ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको कम्पनीले सन् २०२५ मा ८ करोड ५० लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ। सन् २०२४ को सेप्टेम्बर मध्यदेखि होटल सञ्चालनमा आएपछि कम्पनीको आम्दानी ह्वात्तै बढेको हो। यसका साथै, चालू वर्ष सन् २०२६ को पहिलो ५ महिनामा मात्रै कम्पनीले ३ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरिसकेको छ।
व्यापारको आकार बढे पनि होटल सञ्चालनको सुरुवाती उच्च लागत, बैंक ब्याज र ह्रासकट्टी खर्चका कारण नाफाको मार्जिनमा भने संकुचन आएको छ। सन् २०२४ मा ६४.५५ प्रतिशत रहेको सञ्चालन मुनाफा, सन् २०२५ मा ३१.३७ प्रतिशतमा झरेको छ भने खुद नाफा २.६८ प्रतिशतमा सीमित भएको छ। कम्पनीको कुल आम्दानीमा होटल व्यवसायको हिस्सा करिब ७४ प्रतिशत रहेको छ।
कम्पनीले लिएको १ अर्ब ६ करोड २२ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जालाई इन्फोमेरिक्सले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ। वीरगञ्जको मुख्य सहरी क्षेत्र र रक्सौल नाकाबाट मात्र ४ किलोमिटरको दूरीमा रहेको ९ तल्ले यस भवनमा होटल, मल, सिनेमा हल, र क्यासिनो सञ्चालनमा रहेका छन्। भारतीय चेन ‘सरोवर होटल’ सँगको ब्रान्डिङ र रणनीतिक लोकेसनले कम्पनीलाई भविष्यमा थप फाइदा पुग्ने दाबी गरिएको छ।
स्काइलाइन इन्फ्राका अध्यक्ष प्रतीक अग्रवालका अनुसार, होटल व्यवसायको स्थायित्व बढ्दै जाँदा आगामी दिनमा आम्दानी र नाफा दुवै पक्ष अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.