Home » Blog » सदस्यता शुद्धीकरण र साधारणसभाको विषयलाई लिएर महासंघ पर्सामा असन्तुष्टि, ४० श्रमजीवी पत्रकारद्वारा ४ बुँदे मागसहित ३ दिने अल्टिमेटम

सदस्यता शुद्धीकरण र साधारणसभाको विषयलाई लिएर महासंघ पर्सामा असन्तुष्टि, ४० श्रमजीवी पत्रकारद्वारा ४ बुँदे मागसहित ३ दिने अल्टिमेटम

Ankushdaily
0 comments 18 views
वीरगन्ज।
नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरण र नियमित साधारणसभाको विषयलाई लिएर आबद्ध पत्रकारहरूबीच असन्तुष्टि चर्किएको छ। संस्थाभित्र बेथिति र विसंगति बढेको भन्दै एकजुट भएका ४० जना श्रमजीवी पत्रकारहरूले संयुक्त रूपमा ४ बुँदे माग अघि सार्दै नेतृत्वलाई ३ दिने अल्टिमेटम दिएका छन्। उनीहरूले महासंघका पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा र केन्द्रीय लेखा समिति अध्यक्ष केसी लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कदम चाल्न आग्रह गरेका हुन्। उक्त मागपत्रको बोधार्थ महासंघको केन्द्रीय र मधेश प्रदेश समितिलाई समेत पठाइएको छ।
विज्ञप्तिमा समाजका विकृति विरुद्ध कलम चलाउने पत्रकारहरूकै साझा संस्थालाई केही व्यक्तिले व्यक्तिगत स्वार्थका लागि विवादमा तानेर बन्धक बनाएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। आन्दोलित पत्रकारहरूले महासंघको केन्द्रमा बुझाइएको सदस्यता शुल्क बमोजिमको हिसाबकिताब सार्वजनिक गरी पूर्ण आर्थिक पारदर्शिता कायम गर्न माग गरेका छन्। त्यस्तै, अघिल्लो कार्यसमितिले निर्णय पुस्तिका (माइन्युट), हरहिसाब तथा आयव्ययको विवरण नयाँ कार्यसमितिलाई अविलम्ब हस्तान्तरण (बरबुझारथ) गर्नुपर्ने र समयमै साधारणसभा सम्पन्न गर्नुपर्ने उनीहरूको अडान छ। सदस्यता शुद्धीकरण प्रक्रियालाई विधान, पद्धति र स्थापित मापदण्ड अनुसार अघि बढाउनुपर्ने माग गर्दै उनीहरूले यस क्रममा सदस्यहरूको व्यक्तिगत आचरण र फौजदारी मुद्दा जस्ता संवेदनशील विषयलाई समेत ख्याल गरिनुपर्ने औंल्याएका छन्। यसका साथै, महासंघको हित विपरीत सामाजिक सञ्जालमा भ्रम फैलाएर संस्थालाई बदनाम गराउने गतिविधिमा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बुँदा समेत ज्ञापनपत्रमा समेटिएको छ।
नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि अघिल्लो कार्यसमितिले प्रशासनिक तथा आर्थिक कागजात बुझाउन आलटाल गर्नु र साधारणसभा हुन नदिनु अत्यन्त खेदजनक रहेको पत्रकारहरूले उल्लेख गरेका छन्। महासंघका जिम्मेवार पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरूलाई आफ्नो दायित्व इमानदारिताका साथ निभाउन आग्रह गर्दै नेतृत्वलाई उच्च नैतिकता प्रदर्शन गर्न आह्वान गरिएको छ। तोकिएको ३ दिनको समयसीमा भित्र यी मागहरू पूरा नभए संस्थाको गरिमा बचाउन थप दबाबमूलक आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत पत्रकारहरूले दिएका छन्।

सम्बन्धित पोस्टहरू