Home » Blog » कार्यालयमा लगाइएको तालाबन्दीप्रति पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण, संवादमा आउन आह्वान

कार्यालयमा लगाइएको तालाबन्दीप्रति पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण, संवादमा आउन आह्वान

Ankushdaily
0 comments 14 views
वीरगञ्ज, १५ जेठ ।
नेपाल पत्रकार महासंघ, पर्सा शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति कार्यसमितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘सदस्यता शुद्धीकरण संघर्ष समिति’ को नाममा सार्वजनिक बिदाको दिन कुनै औपचारिक जानकारी नै नदिई कार्यालयमा ताला लगाइनु र त्यसलाई सामाजिक सञ्जालमार्फत प्रचार गरिनु दुःखद एवं आपत्तिजनक रहेको महासंघले उल्लेख गरेको छ। महासंघका पर्सा शाखा सचिव विजयकुमार महतोद्वारा जारी प्रेस विज्ञप्तिमा यस प्रकारका गतिविधिले आम सञ्चारकर्मीहरूको साझा भरोसा, सम्पत्ति र वर्षौंदेखि आर्जित प्रतिष्ठाको प्रतीक मानिएको संस्थाको गरिमामाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख छ। सदस्यता शुद्धीकरणको सवालमा संस्था पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै महासंघले शुद्धीकरण कुनै व्यक्तिगत आग्रह, आवेग वा दबाबका भरमा नभई संस्थाको विधि, विधान र विगतका निर्णयहरूको गहन अध्ययन तथा सहमतिका आधारमा मात्र अगाडि बढ्ने एक जिम्मेवार प्रक्रिया भएको प्रस्ट पारेको छ।
विज्ञप्तिमा वर्तमान कार्यसमितिले भोग्नुपरेका संस्थागत चुनौतीहरू र पूर्वनेतृत्वको असहयोगबारे पनि विस्तृत रूपमा प्रकाश पारिएको छ। महासंघका अनुसार शाखा नेतृत्वले तत्कालीन अध्यक्ष श्री अनुप तिवारीलाई गत जेठ ७ गते नै औपचारिक पत्राचार गरी ३ दिनभित्र संस्थाको निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाब लगायतका आवश्यक कागजात बुझाउन आग्रह गरेको थियो। तर, पूर्वनेतृत्वबाट ती आवश्यक कागजात उपलब्ध गराएर प्रक्रियालाई सहज बनाउनुको साटो संस्थाको कार्यालयमै तालाबन्दी गरिनु नियतमाथि गम्भीर प्रश्न उठ्ने खालको घटना भएको महासंघको ठहर छ। शाखामा हाल कायम रहेका सदस्यहरू निवर्तमान नेतृत्वकै कार्यकालमा स्थापित भएको यथार्थ एकातिर छ भने, तिनै सदस्यहरूको मताधिकारबाट नयाँ कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा पनि निर्णय पुस्तिका, आर्थिक विवरण र अन्य महत्त्वपूर्ण अभिलेखहरू हालसम्म हस्तान्तरण नगरिनु अत्यन्त चिन्ताजनक विषय बनेको छ। अझ साधारणसभाको तयारी भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी भएका गतिविधिले थप आशंका जन्माएको विज्ञप्तिमा उल्लेख छ।
नयाँ कार्यसमितिको पदस्थापनकै दिनदेखि निर्णय पुस्तिका हस्तान्तरण नगर्नु, पटक-पटक आग्रह गर्दा पनि बहानाबाजी गरिरहनु, र पहिलो बैठकले ३० दिनभित्र हरहिसाब बुझाउन गरेको निर्णयलाई पूर्णतः बेवास्ता गरिनुले पूर्वनेतृत्वको गैरजिम्मेवारीपन प्रस्ट पारेको महासंघको आरोप छ। साधारणसभामा हरहिसाब बुझाउने बहानामा बलमिच्याइँ गर्ने र साधारणसभाको मिति तय गर्न बोलाइएको बैठकमा बारम्बार अवरोध सिर्जना गर्ने जस्ता शृङ्खलाबद्ध घटनाक्रमहरूले शुद्धीकरणको आवरणमा संस्थालाई अन्योल र असहजतामा राख्ने प्रयास भइरहेको महासंघले ठहर गरेको छ। अतः महासंघले पूर्वनेतृत्वलाई संस्थाको निर्णय पुस्तिकासहित सम्पूर्ण आर्थिक हरहिसाब तत्काल शाखालाई बुझाई सदस्यता शुद्धीकरण प्रक्रियामा सकारात्मक सहयोग गर्न माग गरेको छ।
साथै, कार्यालयमा लगाइएको ताला तुरुन्त खोली वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आग्रह गर्दै महासंघले संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा र कानुनी अधिकारमाथि निरन्तर प्रहार भइरहेमा आवश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनी समेत दिएको छ।

सम्बन्धित पोस्टहरू