Home » Blog » अदालतका श्रेस्तेदारको ‘संरक्षण’मा किर्ते मुद्दाका अभियुक्त मेयर सिंह फरार भएको आरोप

अदालतका श्रेस्तेदारको ‘संरक्षण’मा किर्ते मुद्दाका अभियुक्त मेयर सिंह फरार भएको आरोप

Ankushdaily
0 comments 755 views
वीरगन्ज।
लिखत सम्बन्धी कसूर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका राजेशमान सिंह लाई पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले औपचारिक रूपमा फरार हुने अवसर दिएको आरोप सार्वजनिक भएको छ। जिल्ला अदालत पर्साले जेठ ८ गते पक्राउ पुर्जी जारी गरेपछि उक्त विषय जेठ १२ मा सार्वजनिक भएको थियो। त्यसपछि राष्ट्रिय सञ्चारमाध्यमहरूले घटनालाई प्रमुख समाचारका रूपमा प्रस्तुत गरेका थिए।
समाचार सार्वजनिक भएसँगै मेयर सिंह निकट केही सञ्चारमाध्यमले जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बस्नेतको भनाइ उद्धृत गर्दै पक्राउ पुर्जी जारी नभएको दाबी गरेका थिए। तर केही घण्टापछि जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै आधिकारिक ‘ह्वाट्सएप’ सन्देशमार्फत मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पत्रकारहरूलाई पठाएपछि यसअघि गरिएको खण्डनमाथि थप प्रश्न उठेको हो।

अदालत परिसरमै ‘स्टन्टबाजी’ !

बुधबार बिहान मेयर सिंह आफ्ना कानुनी सल्लाहकार कमलमोहन पोखरेलसहित समर्थकहरूको समूह लिएर पर्सा जिल्ला अदालत परिसर पुगेका थिए। अदालत परिसरभित्र उनी हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचकहरूले त्यसलाई “कानुन र प्रशासनलाई चुनौती दिने प्रदर्शन” को संज्ञा दिएका छन्।
स्रोतका अनुसार मेयर सिंहले आफ्ना सल्लाहकार सत्यराज घिमिरेको सुझावमा अदालत पुगेर आफू अनुसन्धानमा सहयोग गर्न आएको सन्देश दिन खोजेका थिए। तर पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पनि पक्राउ नगरिनुले अदालत प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीय स्रोतका अनुसार अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक मेयर सिंहकै वडा निवासी भएकाले उनीहरूको निकट सम्बन्ध रहेको चर्चा छ। मल्लिककै संरक्षण र सल्लाहमा मेयर सिंह अदालत पुगेको आरोपसमेत लगाइएको छ। आफू कहाँ हाजिर हुन आउने व्यक्तिलाई तजविजी अधिकार प्रयोग गर्दै “पछि आउनु” भन्न मिल्ने कानुनी व्यवस्था नरहेको अवस्थामा मल्लिकले सञ्चारकर्मीहरूलाई भ्रामक सूचना दिएको आरोप लागेको छ।
प्रत्यक्षदर्शीहरूले मेयर सिंह अदालत परिसरमा रहेको श्रेस्तेदार मल्लिकको कार्यकक्षमा प्रवेश गरेको तथा केही समयपछि बाहिरिएको बताएका छन्। उनीहरूका अनुसार त्यस दिनको सिसिटिभी फुटेज सार्वजनिक भए घटनाको वास्तविकता स्पष्ट हुने दाबी गरिएको छ।

“न्यायका लागि उच्च अदालत धाउनुपर्‍यो”

मेयर सिंहविरुद्ध जाहेरी दिएका लियाकत अलीले स्थानीय प्रहरी प्रशासनबाट न्याय नपाएपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जबाट परमादेश गराउनुपरेको बताएका छन्। उनका अनुसार अदालतको आदेशपछि मात्रै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
लियाकत अलीले सरकारी वकिल कार्यालयको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै अनुसन्धानलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाएका छन्। उनले अड्डा अदालत, प्रहरी प्रशासन तथा सरकारप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गएको गुनासो गरेका छन्।

राजनीतिक तथा सामाजिक वृत्तमा चर्को प्रतिक्रिया

पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद हरि पन्त ले मेयर सिंहको गतिविधि तथा प्रहरी प्रशासनको भूमिकाबारे नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग छलफल गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय कुमार सरावगी ले “पद र पहुँच भएकाका लागि एउटा कानुन र सर्वसाधारणका लागि अर्को कानुन लागू भइरहेको” टिप्पणी गरेका छन्। उनका अनुसार अदालत परिसरमै देखिएको दृश्यले न्याय प्रणालीमाथि नागरिकको भरोसा कमजोर बनाएको छ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिनले पनि किर्ते जालसाजीजस्तो गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिलाई पक्राउ नगर्नु प्रहरी प्रशासनको कमजोरी भएको बताएका छन्। “कानुन सबैका लागि बराबर हो भन्ने मान्यता यस घटनाले चुनौती दिएको छ,” उनले बताएका छन्।

नागरिकता प्रकरणको पृष्ठभूमि

प्राप्त विवरणअनुसार, इन्द्रावती नगरपालिका–१० निवासी रिता भट्टराई काठमाडौंको खिचापोखरीस्थित टोक्यो स्टोरमा कार्यरत रहँदा मेयर सिंहसँग सम्बन्ध स्थापित भएको बताइन्छ। सिंह निकट स्रोतले रिता भट्टराईसँग भेट हुनुअघि नै छोरी रुबिनाको जन्म भइसकेको दाबी गरेका छन्।
रिता भट्टराईका श्रीमान भारतीय मूलका व्यक्ति रहेको तथा ट्याक्सी चालक पेशामा संलग्न रहेको चर्चा भए पनि त्यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ। उनी हाल जीवित नरहेको दाबीसमेत विभिन्न स्रोतबाट गरिएको छ।
यही प्रकरणमा झुट्टा
विवरण तथा किर्ते कागजात प्रयोग गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता बनाइएको आरोप मेयर सिंहमाथि लागेको हो। यसअघि सार्वजनिक भएका विभिन्न कागजातमा भने मेयर सिंहले निर्वाचन आयोगमा व्यक्तिगत विवरण बुझाउँदा तथा बैंक खाता खोल्दा आफ्नो एक मात्र सन्तान छोरा भएको उल्लेख गरेका थिए।

प्रहरीको दाबी : खोजी जारी

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले मेयर सिंहको खोजीका लागि विशेष टोली गठन गरिएको बताएका छन्। उनका अनुसार पक्राउ पुर्जी कार्यान्वयनका लागि प्रहरी परिचालन भइसकेको छ।

सम्बन्धित पोस्टहरू