अंकुश संवाददाता,
वीरगञ्ज ।
मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।
बिहीबार विशेष अदालतले मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको प्रकरणमा तत्कालीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
प्रतिवादी रहेका सह-लेखापाल राजाराम मण्डल, भण्डार–जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जीतमोहनकुमार दास, ओम सत्य साई प्रालि वीरगञ्ज र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाइ पाएका छन् ।
बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत मधेस सरकारले १० करोड ३३ लाख रुपैयाँ बराबरको साइकल खरिद गरेको थियो। साइकल किन्दा नियम मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष साउनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।