वीरगन्ज ।
वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर नागरिकता जारी गर्न लगाएको भन्दै परेको उजुरीमाथि कारबाही गर्न प्रशासनले ढिलासुस्ती गरेको भन्दै सचेत नागरिक समाज वीरगंजले आइतबार सिटी जुलुससहित बिरोध प्रदर्शन गरेको छ।
नागरिकता किर्ते गर्ने मेयरलाई कारबाही माग गर्न अपील गरिएका विभिन्न पर्चा पम्पलेट बोकेर सहभागीहरु प्रर्दशनमा उत्रिएका थिए । वीरगंजको घण्टाघरबाट निकालिएको र्याली माईस्थान, महावीरस्थान, अलखियामठ, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई वीरगंज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा जसपा नेता मनोज राउत कुर्मी, जनमत पार्टीका नेता मुकेश द्विवेदी, शशिकपुर मिया, पुर्व कृषिमन्त्री करिमा बेगम, एमालेका नेता अजय गुप्ता, लियाकत अलि, नेपाली कांग्रेसबाट अनिल सिंह, जमिला खातुन, मिन्टु सिंह, किरण सरकार, नेविसंघका सभापति रमेश यादव लगायतले सम्बोधन गरेका थिए ।
मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा छुट्टा–छुट्टै गरी १६ जनाले जाहेरी दिइसकेका छन् ।