Home » Blog » वीरगन्जमा ‘रोटरी युनाइट फर गुड’ अभियानअन्तर्गत बृहत् स्वास्थ्य शिविर सम्पन्न

वीरगन्जमा ‘रोटरी युनाइट फर गुड’ अभियानअन्तर्गत बृहत् स्वास्थ्य शिविर सम्पन्न

Ankushdaily
0 comments 24 views

वीरगन्ज ।
वीरगन्जस्थित माइस्थान मन्दिर परिसरमा शनिबार बिहान सञ्चालित बृहत् स्वास्थ्य शिविर (मेगा हेल्थ स्क्रिनिङ क्याम्प) मा दुई सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका छन्। रोटरी क्लब अफ वीरगन्जद्वारा सञ्चालित ‘रोटरी युनाइट फर गुड’ अभियानअन्तर्गत यो निःशुल्क शिविर आयोजना गरिएको हो। बिहान ६:३० देखि ८:३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा रोट्र्याक्ट क्लब अफ वीरगन्ज, रोट्र्याक्ट क्लब अफ शंकराचार्य, इन्ट्र्याक्ट क्लब अफ ज्ञानदा एकेडेमी र इन्ट्र्याक्ट क्लब अफ कादम्बरी एकेडेमीले सहआयोजकको भूमिका निर्वाह गरेका थिए।
शिविरमा फिजिसियन, बालरोग, हाडजोर्नी, दन्त तथा अनुहारको शल्यक्रिया (ओरल तथा म्याक्सिलोफेसियल) र आँखा लगायतका स्वास्थ्य समस्याहरूको विशेषज्ञ परीक्षण गरिएको थियो। सेवाग्राहीको स्वास्थ्य जाँचका लागि प्रा. डा. आनन्दकुमार झा, डा. शश्वत प्रसाद, डा. सरोजप्रसाद देव, नेत्ररोग विशेषज्ञ डा. अमर केवल, डा. सुनीलकुमार पटेल, डा. अमोद श्रेष्ठ र डा. श्वेता गुप्ता लगायतका विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको थियो। छोटो समयमै सञ्चालन गरिएको भए पनि शिविरले उल्लेख्य मात्रामा स्थानीयलाई लाभान्वित गरेको छ।
यस कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष राकेश मिश्रा, सचिव दीनदयाल केडिया र पूर्वअध्यक्ष सोहन पोद्दारसहित विभिन्न क्लबका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, रोट्र्याक्ट क्लब अफ शंकराचार्यका अध्यक्ष अमितकुमार सर्राफ र रोट्र्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष विवेक पटेल लगायत रोटेरियन तथा रोट्र्याक्टरहरूको बाक्लो सहभागिता थियो। सामाजिक उत्तरदायित्व वहन गर्दै सञ्चालन गरिएका यस्ता जनस्वास्थ्य लक्षित अभियानले समुदायस्तरमा स्वास्थ्य सचेतना जगाउनुका साथै आम नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरू