Home » Blog » बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा निवेदन

बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा निवेदन

Ankushdaily
0 comments 20 views
विरगंज ।
रौतहटको गरुडास्थित ऐतिहासिक तथा आर्थिक महत्त्वको श्री राम सुगर मिल्स लिमिटेड पुनः सञ्चालनको माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ। माधवनारायण नगरपालिका–१ का बासिन्दा राम पुजन साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमक्ष लिखित निवेदन दर्ता गराउँदै विगत पाँच–छ वर्षदेखि बन्द रहेको यस उद्योगलाई मन्त्रालयस्तरबाटै आवश्यक पहल गरी सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्।
उद्योग लामो समयसम्म बन्द हुँदा स्थानीय उखु किसान, हजारौँ मजदुर र समग्र राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेको छ। उत्पादित उखुले उचित बजार नपाउँदा किसानहरू खेती नै छाड्न बाध्य भएका छन् भने श्रमिकहरूले आफ्नो रोजगारी गुमाएका छन्। विगतमा मिल बचाउ अभियान समिति र स्थानीय निकायले पटक–पटक आवाज उठाए पनि सञ्चालक पक्षबाट ठोस निर्णय नआएकाले सरकारले नै सरोकारवालासँग समन्वय गरी प्राविधिक, आर्थिक तथा व्यवस्थापकीय सुधारमार्फत निकास दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
मन्त्रालयमा पेस गरिएको निवेदनमा उद्योगको वर्तमान अवस्था, सम्भाव्यता र लिलामी प्रक्रियाबारे अध्ययन गर्न तत्काल एक उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। सोही समितिमार्फत सञ्चालनको स्पष्ट खाका तयार गर्नुपर्ने र किसानहरूले उद्योगको भविष्य सुनिश्चित गर्न न्यूनतम रकम लिएर उपलब्ध गराएको ८३ बिघा १३ कठ्ठा जग्गामा उनीहरूकै हित सुरक्षित हुने गरी दीर्घकालीन रूपमा मिल सञ्चालन गर्ने नीति अवलम्बन गर्नुपर्ने मुख्य माग छ।
विगत तीन दशकदेखि किसान र मजदुरको हितमा सञ्चालित जिल्लाकै प्रमुख उद्योग केही व्यक्तिको निजी स्वार्थका कारण बन्द हुँदा ठूलो क्षति पुगेको भन्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र क्षेत्रीय विकासलाई प्राथमिकता दिन अपिल गरिएको छ। मन्त्रालयको ठोस पहलबाट उद्योग पुनः सञ्चालनमा आए स्थानीय अर्थतन्त्रमा सुधार हुनुका साथै कृषक तथा श्रमिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरू