Home » Blog » ‘राजागंज’को प्रिमियर वीरगंजमा, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

‘राजागंज’को प्रिमियर वीरगंजमा, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

Ankushdaily
0 comment 7 views
वीरगंज ।
फिल्म ‘राजागंज’ (पूजा, सर) आगामी चैत १ गते (मार्च १४) बाट देशभर प्रदर्शनमा आउँदैछ। नेपाली फिल्महरू प्रायः प्रदर्शनको केही दिनअघि काठमाडौंमा प्रिमियर गरिन्छ, जहाँ मुख्यतः फिल्मकर्मीहरू उपस्थित हुन्छन्। तर, ‘राजागंज’ टिमले नयाँ अभ्यास अपनाउँदै विभिन्न सहरमा विशेष शो आयोजना गरेर दर्शकको प्रत्यक्ष प्रतिक्रिया संकलन गरिरहेको छ।
सोही क्रममा, फिल्मको एक्सक्लुसिभ प्राइभेट स्क्रिनिङ वीरगंजको स्काइलाइन क्यूएफएक्स मा आयोजना गरियो, जसमा निर्देशक दीपक रौनियार सहित कलाकारहरूको उपस्थिति रह्यो। कार्यक्रममा सहभागीहरूले फिल्मको खुलेर प्रशंसा गरे।
बलिउड निर्देशक अनुराग कश्यप कार्यकारी निर्माता रहेको ‘राजागंज’ मा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक (पूर्व मिस नेपाल), गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजी अपरेशनको कथा भन्छ।
विशेष प्रिमियर शोमा मधेस प्रदेश सभा सदस्य श्याम पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाली काँग्रेसका युवा नेता कञ्चन झा लगायतका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो। कार्यक्रममा फिल्मका कलाकार र टिमसँग दर्शकहरूको Q&A सेसन समेत राखिएको थियो, जसले दर्शकलाई फिल्मको कथावस्तु, निर्माण प्रक्रिया र कलाकारहरूको अनुभव नजिकबाट बुझ्ने अवसर दियो।
वीरगंजमा आयोजित यो विशेष शो सानोपाइला संस्थाको सहकार्यमा सम्पन्न भएको थियो। फिल्मको टिमले दर्शकमाझ पुग्न अपनाएको नयाँ शैलीले दर्शक र फिल्मकर्मीहरूको ध्यान तानेको छ। अब चैत १ गतेबाट फिल्मले हलमा कस्तो प्रतिक्रिया पाउनेछ, त्यो भने प्रतीक्षाको विषय छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.