Home » Blog » उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको उपाध्यक्षमा अग्रवाल निर्विरोध निर्वाचित

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको उपाध्यक्षमा अग्रवाल निर्विरोध निर्वाचित

Ankushdaily
0 comment 172 views
वीरगन्ज।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २४ गते हुने निर्वाचनमा एशोसिएट उपाध्यक्षमा वीरगन्जका सञ्जय अग्रवाल र कोषाध्यक्षमा रवीन्द्रनाथ गोपाली निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। मनोनयन दर्ताका क्रममा उहाँहरूको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध हुने पक्का भए पनि निर्वाचन अधिकृतबाट यसको आधिकारिक घोषणा हुन भने बाँकी छ। वर्तमान अध्यक्ष अशोक टेमानीको दुईवर्षे कार्यकाल सकिन लागेसँगै महासंघको आसन्न केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ नेतृत्व चयनका लागि यो प्रदेश अधिवेशन हुन लागेको हो।
प्रदेश अध्यक्ष पदका लागि भने ललित कुमार साह र विजय कुमार साहबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले पनि अध्यक्षमा दाबी गर्ने चर्चा रहे पनि उनले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराएनन्। त्यस्तै, जिल्ला तथा नगरतर्फको उपाध्यक्ष पदमा राजकुमार साह र विजय कुमार साहले उम्मेदवारी दिएका छन्। प्रदेश निर्वाचन अधिकृत सुदीप कुमार कोइरालाका अनुसार कार्यकारिणी सदस्य (जिल्ला/नगर) तर्फ विनोद कुमार साह, सूर्यनारायण यादव र भरत महासेठले मनोनयन दर्ता गराएका छन् भने एशोसिएट सदस्यतर्फ टिबी ट्रेडिङ कन्सर्नको उम्मेदवारी परेको छ।
निर्वाचन समितिको कार्यतालिका अनुसार चैत २० गते नै मतदाता नामावली प्रकाशन भइसकेको छ। चैत २२ गते बिहान मतदाता नामावलीमाथिको दाबी विरोध प्रक्रिया पूरा गरी दिउँसो अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन साँझसम्म उम्मेदवारउपर दाबी विरोध र २३ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ। यी सबै प्रक्रिया पूरा भएपछि चैत २४ गते साँझ ४ बजेदेखि ६ बजेसम्म जनकपुरधामको क्याम्पस चोकस्थित मिथिला ब्यांक्वेटमा मतदान हुने महासंघ मधेस प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्तले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.