Home » Blog » लागूऔषध तस्कर मेघराज साहको गिरफ्तारी र ‘अपहरण’ कथाभित्रको यथार्थ

लागूऔषध तस्कर मेघराज साहको गिरफ्तारी र ‘अपहरण’ कथाभित्रको यथार्थ

Ankushdaily
0 comment 483 views
अंकुश संवाददाता,
बीरगंज।
भारतीय प्रहरीले सर्वाधिक खोजी सूचीमा राखेका पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका खजुरिया निवासी मेघराज साहलाई बिहार प्रहरीले नियन्त्रणमा लिएका छन्।
यही मंसिर २० गते शनिबार बिहान मेघराज साहका पुराना परिचित, भारतीय लागूऔषधका तस्करहरू आर.जे २५ सिबि ४०२१ नंको कालो थार जीपमा सवार भई वडा प्रहरी कार्यालय श्रीपुर राधेमाई छेउमा रहेको घरमा पुगे। त्यहाँ नास्ता र पानी गरी मेघराज उनीहरूसँगै खजुरिया पेट्रोल पम्पमा गए र लागूऔषध, गाँजा र चरेसको नमूना देखाएको श्रोतको दावी रहेको छ। आफूहरूसँग लाखौं भारतीय रूपैयाँ भएको र सोझै नेपाल ल्याउन गाह्रो भएको कारण भारतीयहरूले रक्सौल गएर पैसा लिन आग्रह गरे ।
शनिबार बेलुकी मेघराज एड्भान्स पैसा बुझ्ने उद्देश्यले उनीहरूसँगै रक्सौल गएको र शनिबार बेलुकी ४ बजेर तीन मिनट जाँदा सो कालो थार शंकराचार्य द्वार पार गरेको रेकर्ड  प्रहरीले राखेको छ ।
रक्सौल पुगेपछि मेघराजलाई प्रहरीले नियन्त्रणमा लिएको हाम्रो संवाद स्रोतले दाबी गरेको छ। आइतबार बेलुकी चारबजे पत्रकार सम्मेलन गरेर रक्सौल प्रहरीले मेघराज साहसहित ६ जनाको नाम, नौ किलो १७८ ग्राम चरेस र गाडी सार्वजनिक गर्यो।
अंकुश दैनिकले रक्सौल प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार समाचार आइतबार राति नै अनलाइनमा सम्प्रेषण गरेको थियो। समाचार सम्प्रेषण गर्नु अघि मेघराज साहका सन्धी बहुदरामाईका मेयर सिंहासन साह तेलीसँग बुझ्दा उनले भने कि दिउँसो एक बजे केही खबर प्राप्त भएको थियो। भारतीय थारमा केही व्यक्ति भारतबाट आएका थिए र उनीहरूको दृश्य खजुरिया पेट्रोल पम्पको सिसिटभीमा कैद भएको जानकारी पनि प्राप्त भएको थियो। मेरो छोरा सहित केही आफन्त सन्धीसँग भेट गर्न आइतबार दिउँसो रक्सौल तर्फ गएको बताए । यसबारे उनले मन्त्रीलाई पनि जानकारी गराएको बताए।
सोमबार बिहानदेखि केही अनलाइन र एफएमहरूमा नेपाली नागरिकलाई भारतीय प्रहरीले घरबाट अपहरण गरी लगेको र नेपाल प्रहरी बेखबर रहेको प्रायोजित खबर चल्न थाले।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बस्नेतले सोमबार नै अपहरण सम्बन्धी कुनै जानकारी प्राप्त नभएको र भारतीय प्रहरी हामी कहाँ आएको कुरामा कुनै दम नभएको बताई सकेका छन् ।
आज मंगलबार १० बजेर १७ मिनेट जाँदा ९८२७२०६२६९ नम्बरबाट मेघराज साहको भतिजा प्रवीण साहले यस अनलाइनका अध्यक्ष दीपेन्द्र चौहानलाई फोन गरेर कर्कश आवाजमा भने – “कहाँ हो, जे पाए त्यही छाप्ने। इन्डियन प्रहरीले घरबाट मान्छे अपहरण गरेर लगेको छ। मेरो काकाको फोटो किन छापेको? तिमीहरू दलाल मिडिया हो। कहाँ छौं? म त्यही भेट्न आउँछु।” चौहानले डिलाइट होटल नजिकै आउन भने, तर घण्टौं कुर्दा पनि उनी आएनन् ।
जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रहरी उपरीक्षक रमेश खरेलले मेघराज साह का गुरु लक्ष्मण सहनीलाई गिरफ्तार गरेको वखत मेघराज फरार भएर भारतमा लुकी छिपी बसेको र पर्साका तत्कालिन प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे मेघराजलाई गिरफ्तार गरी कारवाही गर्न खोज्दा पर्साका फोहोरी राजनीतिमा रमाउने नेताहरुले जोगाएको पोल अहिले आएर खुलेको छ।

Related News:-

लागू औषधका कारोबारी मेघराज चरेशसहित भारतमा गिरफ्तार

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.