Home » Blog » स्काईलाइन इन्फ्राद्वारा जग्गा हडपेको आरोपको खण्डन,तथ्यहीन समाचार नलेख्न आग्रह

स्काईलाइन इन्फ्राद्वारा जग्गा हडपेको आरोपको खण्डन,तथ्यहीन समाचार नलेख्न आग्रह

Ankushdaily
0 comment 21 views
वीरगञ्ज ।
स्काईलाइन इन्फ्रा लिमिटेडले आफ्नो कम्पनीले जग्गा हडपेको भनी सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गरेको छ। कम्पनीका सचिव अंशुल अग्रवालद्वारा जारी विज्ञप्तिमा ‘उकालो’ नामक अनलाइन पत्रिकालगायतमा प्रकाशित “महानगरमै भर्याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल” शीर्षकको समाचार पूर्ण रूपमा झुटो, भ्रामक र कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले प्रायोजित रहेको दाबी गरिएको छ।
कम्पनीले सत्यतथ्यको खोजी नै नगरी तथा आफ्नो आधिकारिक धारणासमेत नलिई एकतर्फी रूपमा समाचार सम्प्रेषण गरिएकोमा गम्भीर आपत्ति जनाएको छ। भूमिसुधार तथा मालपोत कार्यालयमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने बदनियतले सरोकार नै नभएका व्यक्तिहरूको नाम जोडेर समाचार लेखिनु पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन भएको कम्पनीको ठहर छ।
कसैको जग्गा अतिक्रमण नगरिएको स्पष्ट पार्दै स्काईलाइन लिमिटेडले प्रचलित कानुनबमोजिम मूल्य भुक्तान गरी मालपोत कार्यालय पर्साबाट जग्गा रजिस्ट्रेसन पास गराएको जनाएको छ। साथै, वीरगञ्ज महानगरपालिकाबाट विधिवत् रूपमा नक्सा पास गरी सुविधासम्पन्न भवन निर्माण गरिएको र यससम्बन्धी सम्पूर्ण ठोस प्रमाणहरू कम्पनीसँग सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि उक्त जग्गाको विषयमा सिर्जित विवादलाई सक्षम अदालतले कानुनबमोजिम निरूपण गरिसकेको तथ्य कम्पनीले प्रस्ट पारेको छ।
आगामी दिनमा तथ्यहीन, भ्रामक र एकतर्फी समाचारहरू प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै कम्पनीले यस्ता घटना दोहोरिएमा कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.