Home » Blog » कालिकामाईमा विद्यार्थी लक्षित लागू औषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

कालिकामाईमा विद्यार्थी लक्षित लागू औषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

Ankushdaily
0 comment 15 views
रामविश्वास चौधरी,
पोखरिया ।
बढ्दो दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले पर्साको कालिकामाई गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कट्टिबलुवामा लागू औषध विरुद्धको सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कालिकामाई युवा समाज र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेलले विद्यार्थीहरूलाई लागू औषधको परिचय, यसले पुर्‍याउने गम्भीर असर, कुलतमा फस्ने कारण, नियन्त्रणका उपाय र यससम्बन्धी विद्यमान कानुनी प्रावधानका विषयमा विस्तृत जानकारी गराएका थिए। सोही अवसरमा युवा समाजको पहलमा विद्यालय वरपरका पसलहरूमा लागू औषधजन्य वस्तुहरू बिक्री वितरण नगर्न कडा चेतावनी समेत दिइएको छ। नियम उल्लङ्घन गरेको पाइएमा तत्काल कानुनी कारबाही अघि बढाउन प्रहरी निरीक्षक पौडेलले कट्टी बेस क्याम्पका सहायक प्रहरी निरीक्षक (एएसआई) लाई निर्देशन दिएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि एवं कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष राजमति देवी बरैनीले युवा पुस्ता दुर्व्यसनमा फस्दा व्यक्ति मात्र नभई सिङ्गो परिवार र समाज नै बर्बाद हुने बताइन्। उनले यस्ता कुलतबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गर्दै यस अभियानलाई सफल पार्न स्थानीय सरकारको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाले बालबालिका र युवाहरूमा लागू औषधको लत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पहिलो चरणअन्तर्गत पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए। उनले दोस्रो चरणमा स्थानीय सरकारसँगको सहकार्यमा यस अभियानलाई थप प्रभावकारी बनाइने योजना रहेको सुनाए। कार्यक्रममा आफ्नो व्यस्त समयका बाबजुद प्रशिक्षकको भूमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक पौडेललाई युवा समाजको तर्फबाट सम्मानपत्र र गम्छा ओढाएर सम्मान गरिएको थियो।
युवा समाजका अध्यक्ष चौरसियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक जितेन्द्र राउतले गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव कुर्मी, राधाकिसुन प्र. चौरसिया, कट्टी बेस क्याम्पका सहायक प्रहरी निरीक्षक उपेन्द्र यादव, युवा समाजका वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह लगायत समाजका सदस्यहरू, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.