Home » Blog » मोडेल पाकिस्तानी !

मोडेल पाकिस्तानी !

Ankushdaily
0 comment 5 views
(स्तम्भकार कुमार रुपाखेती)
शक्ति र सत्तामा पुग्नेहरूको जयजयकार गर्ने, बखानमा फुलबुट्टा भर्ने पुरानै नेपाली चलन हो । राणा शासकहरूको जयकारा लगाउनेहरू अझै जिउँदै छन् । पञ्चायत कालमा राजालाई विष्णुको अवतार भन्ने, राजाले बोलेको कुरालाई “महानवाणी” भन्ने गरिन्थ्यो ।
आज विष्णुको अवतार (ज्ञानेन्द्र) को हालत हेर्नुस् । २००७ सालको क्रान्तिपछि बी.पी. कोइरालालाई “महामानव”, कृष्णप्रसाद भट्टराईलाई “सन्त नेता” र गणेशमानलाई “लौहपुरुष” को पदवी दिएकै हो । फुरुङ्ग परेर कृष्णप्रसाद भट्टराई आफू अविवाहित भए पनि कुमार होइन हाकाहाकी भन्थे । त्यसैगरी समयअनुसार मनमोहन अधिकारी, केपी ओली, माधव नेपाललाई समेत तारणहार मानिन्थ्यो । प्रचण्ड, बाबुरामलाई त “अरे ओ तेरा क्या कहना” स्तरमा तारिफ गरिन्थ्यो । मोहनचन्द्र अधिकारीलाई नेपालको “नेल्सन मण्डेला” भनिन्थ्यो । वामदेव गौतम बेवाक नेताको गन्तीमा थिए । यसरी सेवक अथवा चम्चाहरूले आफ्नो नेताहरूलाई मान–सम्मानको फरेबको पगडी गुथेर रजगज गर्थे । अहिले यिनीहरूको पालो सकिएको छ । आसेपासे गायब छन् ।
अब पालो रा.स्व.पा. का रवि लामिछाने, बालेन्द्र शाहहरूलाई बलिको बकरा बनाउँदै भगवान बनाइँदैछ । यिनको शासनकालमा चमत्कारी किसिमले सबै विकृति “सफाचट” हुन्छ रे । दादा रे दादा… मनको लड्डु…… वडे मियाँ तो बड़े मियाँ – छोटे मियाँ सुभान अल्ला ।
वालेन सरकारको वर्तमान एक्टिभिटी (धरपकड), नयकी घोडी चाल देखाए जस्तो नहोस् । तर रवि, वालेनको अवस्था समेत “अन्तर-मन्तर घोगेसार, वाह्र हातको लेड पसार” हुने लक्षण देखिन्छ । शपथ खाएकै दिन वालेन, सुधन गुरुङहरूले “पाकिस्तानी मोडेल”को डरलाग्दो राजनैतिक चलन चलाए । पाकिस्तानमा बदलाको राजनीति हुन्छ । एउटा सरकारमा आउनासाथ अर्को जेल चलान । रवि–वालेनलाई चनाको भाँडमा चढाउनेहरूको ठुलै जमात पलाएको छ । यस्ताहरूको गोलचक्करमा परेर रा.स्व.पा. नेतृत्व समेत “जसो जसो बाहुन बाजे उसो उसो स्वाहा” गर्दैछन् । पञ्चायती व्यवस्थामा व्यवस्था भन्दा राजाको प्रचार, काँग्रेस, कम्युनिष्टहरूमा समेत दलको भन्दा देउवा, ओली र प्रचण्डको प्रचार अनि अहिले रा.स्व.पा. भन्दा रवि, वालेन ठुलो रे । राजा संविधानभन्दा माथि भनेझैँ डरलाग्दो वातावरण छ । चलन नै छ “जो जीता वही सिकन्दर”। बिचारा गिरिजा मात्र बदनाम थिए, हठवादी भन्थे, हवलदार भन्थे । शान्ति प्रक्रियामार्फत माओवादीलाई हत्या हिंसा त्यागेर राजनीतिमा मूलधारमा ल्याउने हस्ती गिरिजा नै हुन् ।
अनि रा.प्र.पा. का तत्कालीन नेता मिर्जा दिलसाद बेगले आवेगमा “सौ गिरिजा, एक मिर्जा” भन्थे । संक्षेपमा भन्न खोजिएको के हो भने ताज पहिरिए पछि थुप्रै अगुवा–पछुवा भेटिन्छन् । चेत हुनुपर्‍यो, सत्ता र मतदाता कसैका गुलाम होइनन् । देउवा, प्रचण्ड, ओलीहरूको असामयिक पतनले “चार दिनकी चाँदनी फिर अँधेरी रात” को सन्देश दिएको छ । च चा चु बाट सावधान ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.